१७ खर्बको बजेट ल्याउँदै अर्थमन्त्री महत, आर्थिक वृद्धिदर २.१६ प्रतिशत (पूर्णपाठ)

काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले संसदमा आर्थिक सर्वेक्षण प्रस्तुत गरेका छन् । आइतबारको बैठकमा उनले आर्थिक सर्वेक्षण प्रस्तुत गर्दै चालू आर्थिक वर्ष २०७९/८० मा २.१६ प्रतिशत आर्थिक वृद्धि हुने प्रक्षेपण सार्वजनिक गरेका हुन्।

यातायात तथा भण्डार क्षेत्र, शिक्षा र मानव स्वास्थ्य तथा सामाजिक कार्य क्षेत्रको उत्पादनको वृद्धिदर घट्ने अनुमान गरिएको छ।

‍ऊर्जा उत्पादन बढेका कारण ग्यास, वाष्प र वातानुकुलित क्षेत्रको उत्पादन भने १९ प्रतिशतले विस्तार हुने अनुमान छ। गत वर्ष मुलुकको आर्थिक वृद्धि आधा मूल्यमा ५.२६ थियो।

सरकारले आर्थिक सर्वेक्षण सार्वजनिक गर्दै चालु वर्ष गण्डकी प्रदेशको सबैभन्दा धेरै ३.७४ प्रतिशत र बागमती प्रदेशको सबैभन्दा कम १.८ प्रतिशत रहने अनुमान गरेको छ।

केही समयअघि केन्द्रीय तथ्यांक विभागले सार्वजनिक गरेको तथ्यांकले दोस्रो त्रैमासमा आर्थिक वृद्धि १.१ प्रतिशतले ऋणात्मक भएको देखाएको थियो।

अर्थमन्त्री महतले संसदमा सार्वजनिक गरेको प्रतिवेदनमा सञ्चालनमा रहेका ४४ मध्ये २५ वटा मात्रै नाफामा रहेको उल्लेख छ । संस्थानहरूको कोषमा व्यवस्था नभएको दायित्व २०.३ प्रतिशतले घटेको छ।

सञ्चालन आय ३६.२ प्रतिशतले बढेर पाँच खर्ब ७५ अर्ब रुपैयाँ पुगेको छ। गत वर्ष १७ खर्ब ९३ करोड रुपैयाँको बजेट आएको थियो । अर्थमन्त्री महतले यसपालि १७ खर्बको बजेट ल्याउने तयारी गरेका छन्।

प्रदेश सरकार र स्थानीय सरकारलाई जाने अनुदान पनि यस वर्ष अघिल्लो वर्षको तुलनामा घट्ने भएको छ। प्रशासनिक खर्च घटाउने तयारीस्वरूप अर्थमन्त्रीले दुई दर्जन बोर्ड तथा समिति पनि खारेजी गर्ने तयारी गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here