काठमाडौं । सांसद विकास कोष व्युँतिएपछि काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले सांसदहरु वडा अध्यक्षको लेबलमा आएको टिप्पणी गरेका छन् ।
आर्थिक वर्ष २०८०/८१ को बजेटबाट सांसद विकास कोष व्युँतिएपछि सो टिप्पणी गरेका हुन् ।अर्थमन्त्री डा. प्रकाशशरण महतले सोमबार आगामी आर्थिक वर्षको बजेट वक्तव्यमा ‘निर्वाचन क्षेत्रका जनताले अपेक्षा गरेका विकास निर्माणका स्थानीय आवश्यकताहरू जनप्रतिनिधिसमार्फत सम्बोधन गर्न प्रत्येक निर्वाचन क्षेत्रका लागि ५ करोड विनियोजन गर्नेगरी संसदीय क्षेत्र पूर्वाधार विकास कार्यक्रम’ प्रस्ताव गरेका छन्। जसअन्तर्गत न्यूनतम १ करोडको आयोजना बनाउनुपर्ने छ। त्यस्ता आयोजनामा सडक, सिँचाइ, खानेपानी, शिक्षा, खेलकुदलगायतका आयोजना हुनुपर्ने व्यवस्था गरिएको छ।
सरकारले दुई वर्षअघि खारेज गरेको ‘सांसद विकास कोष’को नामले परिचित पूर्वाधार विकास साझेदार कार्यक्रम ब्युँताएको हो।
‘सांसद विकास कोष पाउनु भएसि बल्ल सांसदहरु वडाअध्यक्षको लेबलमा आउनुभयो,’ शाहले सामाजिक सञ्जालमार्फत प्रश्न गरेका छन्, ‘वडाअध्यक्षकै काम गर्न मन भए किन सांसद बन्नुहुन्छ माननीयज्यूहरू?’