रेशम चौधरीविरुद्ध रिटमा सुनुवाइ हुँदै, न्यायाधीश भट्टराईको इजलासमा तोकियो पेशी

काठमाडौं । टीकापुर घटनामा अदालतबाट दोषी ठहर भई जन्मकैद भोगिरहेका रेशम चौधरीको सजाय मिनाहा गर्ने राष्ट्रपतिको निर्णयविरुद्ध सर्वोच्च अदालतमा दायर भएको रिटको आज सुनुवाइ हुँदैछ।

उनीमाथि परेको मुद्दा न्याायधीश डाक्टर आनन्दमोहन भट्टराईको इजलासमा परेको छ। उनको मुद्दा अन्तिममा रहेकोले आज सुनुवाइ आज हुन सक्ने सम्भावना कम रहेको छ।

टिकापुर घटनामा मारिएका प्रहरी निरीक्षक केशव बोहराकी पत्नी शारदा कडायतले आइतबार सर्वोच्चमा निवेदन दिएकी हुन्। सो दिन समय अभावका कारण दर्ता नभएको रिट मंगलबार सर्वोच्चमा दर्ता भएको हो।

रिटमा उत्प्रेषण परमादेश बदरको माग गरिएको छ।

आइतबार बसेको मन्त्रिपरिषद बैठकले गणतन्त्र दिवस २०८० को अवसर पारेर जेलमा रहेका चौधरीको बाँकी कैद सजाय माफी मिनाहका लागि राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गरेपछि चौधरी थुनामुक्त भएका हुन्।

यसअघि अदालतबाट दोषी ठहर भइ कैद सजाय भुक्तान गरिरहेका चौधरीलाई सरकारले आममाफी दिएर थुनामुक्त गर्न खोजेपछि प्रहरी निरीक्षक केशवकी पत्नी शारदाले राष्ट्रपति कार्यालयमा निवेदन दिएर चौधरीलाई थुनामुक्त नगर्न माग गरेकी थिइन्।

जिल्ला, उच्च र सर्वोच्च अदालतबाट जन्मकैद सजाय सुनाइएका चौधरी डिल्लीबजार कारागारमा थुनामा थिए। अदालतको फैसलाअनुसार चौधरी २०९४ साल फागुन १३ गतेसम्म जेलमा बस्नुपर्ने थियो। तर राष्ट्रपतिको निर्णयअनुसार चौधरी सोमबार नै रिहा भइसकेका छन्।

२०७२ साल भदौ ७ गते कैलालीको टीकापुरमा थरुहट आन्दोलनका क्रममा नेपाल प्रहरीका एसएसपीसहित सात सुरक्षाकर्मीको मृत्यु भएको थियो। यसै क्रममा एक बालकको निर्ममतापूर्वक हत्या गरिएको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here