तराईका जनतालाई ‘लु’ बाट बच्न सर्तकता अपनाउन अनुरोध

काठमाडौं । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले देशका तराई भू–भागका जनतालाई सर्तकता अपनाउन अनुरोध गरेको छ । तराईमा आगामी पाँच दिनसम्म तातो हावा तथा ‘लू’ लाग्न सक्ने सम्भावना रहेकाले सोबाट बच्न आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको हो ।

महाशाखाले तातो दिन तथा लूसम्बन्धी विशेष बुलेटिन जारी गरेको छ ।

आगामी केही दिनसम्म देशभरको तापक्रमको अवस्था तथा विश्लेषणअनुसार तराईका धेरैजसो भू–भागमा अधिकतम र न्यूनतम तापक्रम क्रमिक रूपमा बढ्दै जाने देखिन्छ ।

तराईको मध्य क्षेत्र सप्तरीदेखि भैरहवा क्षेत्रमा तापक्रम ४० डिग्री नाघेर तातो हावा तथा लू चलेको छ । लगातार पाँच दिनसम्म ४० डिग्रीभन्दा माथि तापत्रम बढेमा लू चलेको मानिन्छ।

महाशाखाले पहाडी भू–भागका उपत्यका तथा खोँचमा समेत तापक्रम क्रमिक रूपमा बढ्न सक्ने सम्भावना रहेको बताएको छ ।

तातो हावा तथा लूबाट हुने सम्भावित असर जस्तैः थकाइ लाग्ने, कमजोरी हुने, बढी तिर्खा लाग्ने, टाउको दुःख्ने, खुट्टा बाउँडिने, चक्कर आउने, बेहोस हुने, मांसपेशी दुख्ने, बान्ता आदि हुनसक्ने देखिएकाले सोबाट बच्न आग्रह गरिएको छ।

तातो हावा तथा लूबाट बच्न बढी गर्मीमा घरभित्र अर्थात् चिसो स्थानमा रहने, बाहिरी वातावरणमा बढी नजाने घाममा हल्का तथा सुतीका लुगा लगाउन सुझाव दिएको छ ।