मनसुन भित्रिन अझै केही दिन लाग्ने, तराईमा ‘लू’ को सम्भावना यथावत

काठमाडौं ।आंशिक बदली भइ आज पहाडी भू-भागका थोरै स्थानमा मात्रै वर्षाको सम्भावना छ । आज अधिकांश भू-भागमा मौसम सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाकाअनुसार कोशीलगायत गण्डकी तथा कर्णाली प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्सहित क्षणिक वा हल्का वर्षा हुनेछ ।

राति पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यत: सफा रहनेछ। कोशी प्रदेशको एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्सहित क्षणिक वा हल्का वर्षाको सम्भावना छ ।

महाशाखाका अनुसार काठमाडौं उपत्यका लगायत देशका अन्य उपत्यकाहरूमा समेत तापक्रममा क्रमिक वृद्धि भइरहेको छ। आगामी केही दिन तराईका धेरैजसो भू-भागहरूमा अधिकतम र न्यूनतम तापक्रम क्रमिक रुपमा बढ्ने महाशाखाले बताएको छ।

हालको तल्लो र उपल्लो वायुमण्डलको अध्ययन र विश्लेषण अनुसार नेपालमा यस वर्षको मनसुनको आगमन हुन अझै केही दिन लाग्ने देखिन्छ। देशका तराई भू-भागहरूमा आगामी पाँच दिन सम्म तातो हावा तथा लू (हिट वेभ)को सम्भावना यथावत् रहने देखिएकोले सो बाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।

साथै, पहाडी भू-भागका उपत्यका तथा खोँचहरूमा समेत तापक्रम क्रमिक रुपमा बढ्न सक्ने सम्भावना रहेको पनि महाशाखाले जानकारी दिएको छ।

तातो हावा तथा लूका कारण थकाई लाग्ने, कमजोरी हुने, बढी तिर्खा लाग्ने, टाउको दुख्ने, खुट्टा बाउँडिने, चक्कर आउने, बेहोस हुने, मांसपेशीहरू दुख्ने, बान्ता आदि हुन सक्ने लक्षण देखिने महाशाखाले जनाएको छ।

यसबाट बच्न बढी गर्मीको समयमा घरभित्र अर्थात् चिसो स्थानमा रहने, बाहिरी वातावरणमा बढी नजाने, घाममा बढी हिँडडुल नगर्ने, हल्का लुगा लगाउने, सुती कपडा लगाउने, बाहिर निस्किँदा टाउको छोप्ने, टोपी लगाउने, नियमित (पटक-पटक) पानी तथा झोल पदार्थ (जूस, सर्बत, आदि) प्रशस्त मात्रामा पिउने र स्वास्थ्यमा समस्या भएमा स्वास्थ्यकर्मीसँग नियमित सम्पर्कमा रही थप सल्लाह सुझाव लिन समेत महाशाखाले अनुरोध गरेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here