व्यापार घाटा १२ खर्ब नाघ्यो, निर्यात २४.५ प्रतिशत घट्यो

काठमाडौं । चालु आर्थिक वर्षको १० महिनामा कूल वस्तु व्यापार घाटा १५.९ प्रतिशतले कमी आई रु १२ खर्ब ४अर्ब ४२ करोड कायम भएको छ ।नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको विवरणअनुसार गत आवको सोही अवधिमा यस्तो घाटा २४.९ प्रतिशतले बढेको थियो ।

समीक्षा अवधिमा निर्यात-आयात अनुपात ९.८ प्रतिशत पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अनुपात १०.८ प्रतिशत थियो । चालु आवको वैशाखसम्ममा कूल वस्तु आयात १६.८ प्रतिशतले कमी आई रु १३ खर्ब ३५ अर्ब ३२ करोड कायम भएको छ ।

अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात २८ प्रतिशतले बढेको थियो । वस्तु आयात गरिने मुलुकका आधारमा भारत, चीन तथा अन्य मुलुकबाट भएको आयात क्रमशः १५.१ प्रतिशत, २१ प्रतिशत र १८.६ प्रतिशतले कमी आएको छ ।

वस्तुगत आधारमा रासायनिक मल, स्पोन्ज आइरन, सुन, पेट्रोलियम पदार्थ, कागज लगायतका वस्तुको आयात बढेको छ भने सवारी साधन तथा स्पेयर पार्टस्, एम एस विलेट, औषधि, अन्य मेशिनरी तथा पार्टस्, दूरसञ्चारका उपकरण तथा पार्ट्स लगायतका वस्तुको आयात घटेको छ ।

समीक्षा अवधिमा कूल वस्तु निर्यात २४.५ प्रतिशतले कमी आई रु १३० अर्ब ९० करोड कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यात ५९.८ प्रतिशतले वृद्धि भएको थियो ।

गन्तव्यका आधारमा भारततर्फ भएको निर्यात ३३.६ प्रतिशतले कमी आएको छ भने चीन तथा अन्य मुलुकतर्फको निर्यात क्रमशः १००.६ प्रतिशत र ८.२ प्रतिशतले वृद्धि भएको छ । वस्तुगत आधारमा जिङ्क सिट, पार्टिकल बोर्ड, अलैँची, ऊनी गलैँचा, पोलिष्टर धागो लगायतका वस्तुको निर्यात बढेको छ भने सोयाबिन तेल, पाम तेल, पिना, लत्ताकपडा, सुन चाँदीका सामान तथा गरगहना लगायतका वस्तुको निर्यात घटेको छ ।

निर्याततर्फ भैरहवा, सुक्खा बन्दरगाह, कैलाली, कृष्णनगर, मेची, रसुवा, तातोपानी र त्रिभुवन विमानस्थल भन्सार कार्यालय बाहेकका प्रमुख नाकाबाट गरिएको निर्यात घटेको छ ।

आयाततर्फ रसुवा भन्सार कार्यालय बाहेकका प्रमुख नाकाबाट भएको आयातमा कमी आएको छ । समीक्षा अवधिमा भारतबाट परिवत्र्य विदेशी मुद्रा भुक्तानी गरी रु १ खर्ब १९ अर्ब ६० करोड बराबरको वस्तु आयात भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात रु १ खर्ब ८३ अर्ब ९४ करोड बराबरको थियो ।

वृहत् आर्थिक वर्गीकरणअनुसार समीक्षा अवधिमा भएको कूल निर्यातमा मध्यवर्ती तथा अन्तिम उपभोग्य वस्तुको अनुपात क्रमशः ५४.९ प्रतिशत र ४४.५ प्रतिशत रहेको छ भने पूँजीगत वस्तुको अनुपात नगण्य अर्थात् ०.६ प्रतिशत छ । गत वर्षको सोही अवधिमा भएको कूल निर्यातमा मध्यवर्ती, पूँजीगत तथा अन्तिम उपभोग्य वस्तुको अनुपात क्रमशः ४७.१ प्रतिशत, ०.०२ प्रतिशत र ५२.९ प्रतिशत थियो ।

समीक्षा अवधिमा भएको कूल आयातमा मध्यवर्ती वस्तुको अनुपात ५३.२ प्रतिशत, पूँजीगत वस्तुको ८.४ प्रतिशत तथा अन्तिम उपभोग्य वस्तुको अनुपात ३८.४ प्रतिशत छ । अघिल्लो वर्षको सोही अवधिमा यी अनुपातहरु क्रमशः ५२.८ प्रतिशत, १०.४ प्रतिशत र ३६.८ प्रतिशत थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here