अष्ट्रेलिया विश्व टेष्ट च्याम्पियन, भारत एक दशकदेखि उपाधि विहीन

एजेन्सी । आइसीसी विश्व टेष्ट च्याम्पियनसिप २०२३ को उपाधि अष्ट्रेलियाले जितेको छ । फाइनलमा भारतलाई २ सय ९ रनको फराकिलो अन्तरले हराउँदै उपाधि जितेको हो ।

जितको लागि ४ सय ४४ रनको विशाल विजयी लक्ष्य पछ्याएको भारत अन्तिम दिन पहिलो सेसनमै २ सय ३४ रनमा अल आउट भयो ।

भारतका विराट कोहलीले ७८ बलमा ७ चौकासहित सर्वाधिक ४९ रनमा आउट भए । कोहली स्कट बोलान्डको बलमा पाँचौं दिन सुरुवातमै आउट भएपछि जितको सम्भावना समाप्त भएको थियो ।

अजिन्क्या रहाणेले ४६ र राेहित शर्माले ४३ रन बनाए । बलिङतर्फ अस्ट्रेलियाका नाथन लायनले ४, स्कट बाेल्यान्ड ३ र मिचेल स्टार्कले २ विकेट लिए ।

यसअघि अष्ट्रेलियाले दुई सय ७० रनमा आठ विकेट गुमाएको अवस्थामा दोस्रो पारी समाप्तिको घोषणा गरेको थियो । पहिलो पारीमा अष्ट्रेलियाले चार सय ६९ र भारतले दुई सय ९६ रन बनाएको थियो ।

याे हारसँगै भारत फेरि उपविजेता भएकाे छ । यसअघि सन् २०२१ मा भएको पहिलाे संस्करणकाे फाइनलमा भारत न्युजिल्यान्डसँग पराजित भएको थियो ।

पछिल्ला एक दशकयता भारतले आईसीसीका कुनै पनि प्रतियोगिताको उपाधि जितेको छैन ।

भारतले आइसिसी प्रतियोगिता उपाधि पछिल्लो पटक सन् २०१३ मा महेन्द्रसिंह धोनीको कप्तानीमा जितेको थियो । भारतले २०१३ को आइसिसी च्याम्पियन्स ट्रफीको फाइनलमा घरेलु टोली इंग्ल्यान्डलाई पाँच रनले हराउँदै उपाधि जितेको थियो ।

भारत पहिलो संस्करणको टेस्ट च्याम्पियनसिपको फाइनलमा २०२१ मा इंग्ल्यान्डको साउथह्याप्टनमा न्युजिल्यान्डसँग ८ विकेटले पराजित भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here