चलाउनेमाथि आक्रमण गर्नेको मुद्दा फिर्ता नलिन सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं । सर्वोच्च अदालतले उपप्राध्यापक प्रेम चलाउनेमाथि सांघातिक आक्रमण गर्ने विद्यार्थी नेताहरुविरुद्धको मुद्दा फिर्ता लिने सरकारको निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको छ ।

न्यायाधीश डा.मनोज कुमार शर्माको एकल इजलासले मन्त्रिपरिषदको गत मंगलबारको सो निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको हो ।

चलाउनेलाई २०७७ असोज २० गते सत्तारुढ नेपाली कांग्रेसको भ्रातृसंगठन नेविसंघका कार्यकर्ताहरुले आक्रमण गरेर गम्भीर घाइते बनाएका थिए।

त्रिवि नेविसंघ इकाइ कमिटी अध्यक्ष हरि आचार्यको समूहले चलाउनेलाई गम्भीर घाइते हुनेगरी कुटपिट गरेको थियो।

त्यसपछि आचार्यसहित ५ जनाविरुद्ध जिल्ला अदालत काठमाडौँमा मुद्दा चलिरहेको थियो। मुद्दाको अन्तिम सुनुवाइका लागि मंगलबार पेशी तोकिएको अवस्थामा सरकारले यही आइतबार फिर्ता लिएको थियो।

अदालतले प्राध्यापक चलाउनेमाथि सांघातिक आक्रमण गरेर अपांग बनाउनेहरुविरुद्धको मुद्दा फिर्ता किन लिइएको हो भनेर सरकारलाई कारण देखाउ आदेशसमेत जारी गरेको छ ।
चलाउनेको तर्फबाट अधिवक्ता खतिवडालगायतले बहस गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here