ग्लोबल आइएमई बैंक र डिप्रोक्स नेपालबीच डिजिटल कारोबार गर्ने सहकार्य

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड र डिप्रोक्स नेपालबीच डिजिटल कारोबारलाई प्रवर्द्धन गर्न समुन्नति डिजिटल फाइनान्स परियोजना सञ्चालनका लागि समझदारी पत्रमा हस्ताक्षर सम्पन्न भएको छ।

हस्ताक्षरपछि डिजिटल माध्यमबाट वित्तीय कारोबारलाई प्रवर्द्धन गर्ने उद्देश्य राखेर डिप्रोक्स नेपालले सञ्चालन गर्ने कार्यक्रममा बैंकको सहभागिता रहनेछ।

त्यस्तै परियोजनाअन्तर्गत लुम्बिनी प्रदेशका दाङ, रोल्पा र रुकुम–पूर्व जिल्लाहरूको शान्तिनगर, दंगीशरण, त्रिवेणी, रुन्टीगढी, परिवर्तन, थबांग; भूमे र पुथाउत्तरगंगा गरी ८ स्थानीय तहहरूमा बेलायतस्थित प्राक्टिकल एक्सन र डिप्रोक्स नेपालको साझेदारीमा सञ्चालन हुने कार्यक्रमा पनि बैंकको सहभागिता हुनेछ।

बैंकसँगको सहकार्यमा हुने डिजिटल कारोबारले परिलक्षित समुदायको समय, श्रम र खर्चमा बचत हुने विश्वास लिइएको छ। यस परियोजनामा आवद्ध घरधुरीहरू तरकारी, दुग्ध उत्पादन, ओखर, सुन्तला खेती र बाख्रापालन व्यवसायमा संलग्न छन्।

परियोजनामा आवद्ध पाँच हजार पाँच सय घरधुरीमध्ये ८० प्रतिशत सहभागीहरू महिला हुनेछन् भने बाँकी २० प्रतिशत विभिन्न सीमान्तकृत परिवारबाट हुनेछन्। यसै भित्रबाट ३ प्रतिशत समुदाय अपांग घर-परिवार पनि हुने हुँदा परियोजनाले परिलक्षित समुदायमा समावेशी वित्तीय पहुँच स्थापित हुने विश्वास बैंकले लिएको छ।

साथै यी क्रियाकलापमा सहजीकरण गर्न परियोजनाले ८० जना महिला डिजिटल च्याम्पियनहरू परिचालन गरी बैंकसँगको सहकार्यमा वित्तीय शिक्षा, डिजिटल साक्षरता, महिला सशक्तीकरणका तालिम सञ्चालन गरी मोबाइल बैंकिङ, डिजिटल बैंकिङ, कृषि ऋण र समावेशी वित्तीय पहुँचका लागि योगदान हुने विश्वास बैंकले लिएको छ।

बैंकले समय सापेक्ष रूपमा विभिन्न संघ-संस्थाहरूसँग यस किसिमका सम्झौताहरू गरी आर्थिक गतिविधिहरूमा आफ्नो अग्रसरता जनाउँदै आएको छ।

ग्लोबल आइएमई बैंक मुलुकका ७७ वटै जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको वाणिज्य बैंक हो।

बैंकले ३५९ शाखा कार्यालय, ३६७ एटिएम, ३२२ शाखा रहित बैंकिङ्ग सेवा, ६४ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी १,१०० भन्दा बढि सेवा केन्द्रबाट ४० लाखभन्दा बढि ग्राहकहरू माझ सेवा प्रदान गरिरहेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here