काठमाडौं। ग्लोबल आइएमइ बैंकले खुद नाफामा उच्च सुधार गरेको छ। बैंकको खुद नाफा ४६.२६ प्रतिशतले बढेर ७ अर्ब २५ करोड रुपैयाँ पुगेको छ। पोहोर बैंकको नाफा ४ अर्ब ९५ करोड रुपैयाँ थियो।
बैंकले आइतबार सार्वजनिक गरेको गत आर्थिक वर्ष २०७९/८० चौथो त्रैमासको अपरिष्कृत वित्तीय विवरण खुद नाफ ४६.२६ प्रतिशतले बढेको छ ।
बैंकले गत असार मसान्तसम्म ७ अर्ब २५ करोड ३४ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो अघिल्लो वर्षको सोही अवधिको तुलनामा २ अर्ब ३० करोड रुपैयाँ बढी हो । अघिल्लो वर्ष बैंकले ४ अर्ब ९५ करोड ९२ रुपैयाँ नाफा कमाएको थियो ।
बैंकको खुद ब्याज आम्दानी र संचाालन मुनाफा बढेसँगै खुद नाफामा वृद्धि भएको हो । समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ६६.३७ प्रतिशतले बढेर १७ अर्ब ११ करोड रुपैयाँ पुगेको छ । यसैगरी, बैंकको सञ्चालन मुनाफा ४४.२६ प्रतिशतले बढेर १० अर्ब ३६ करोड रुपैयाँ पुगेको छ ।
समीक्षा अवधिमा बैंकले ४ खर्ब २६ अर्ब रुपैयाँ निक्षेप संकलन गरी ३ खर्ब ५६ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेको छ । हाल ३५ अर्ब ७७ करोड चुक्ता पूँजी रहेको बैंकको रिटेन्ड अर्निङ २ अर्ब ९५ करोड र जगेडा कोषमा १९ अर्ब ९५ करोड रुपैयाँ सञ्चित छ ।
समीक्षा अवधिमा बैंकको वितरणयोग्य नाफा २ अर्ब ९५ करोड रुपैयाँ रहेको छ । यसबाट बैंकले सेयरधनीलाई ८.२७ प्रतिशत लाभांश बाँड्न पुग्छ ।
खुद नाफा बढे पनि बैंकको प्रतिसेयर आम्दानीमा भने झिनो गिरावट आएको छ । अघिल्लो वर्ष २०.८४ रुपैयाँ रहेको बैंकको प्रतिसेयर आम्दानी ७ पैसा घटेर २०.७७ रुपैयाँमा झरेको छ ।
समीक्षा अवधिमा बैंकको प्रतिसेयर नेटवर्थ १६४.०५ रुपैयाँ, खराब कर्जा ३.०८ प्रतिशत, मूल्य आम्दानी अनुपात ८.९६ प्रतिशत, बेसरेट १०.२ प्रतिशत र सीडी रेसियो ८३.४७ प्रतिशत रहेको छ ।