आज कुशे औंसी, बुबाको मुख हेरिदै

काठमाडौं, १३ भदौ । आज कुशे औंसी, देशभर विभिन्न धार्मिक कर्मका साथ मनाइदैछ । प्रत्येक वर्ष भदौ महिनामा पर्ने कुशे औंसी पर्छ ।

यस दिन हिन्दु धर्मावलम्वीले देवकार्य तथा पितृकार्यमा प्रयोग हुने वनस्पती कुश घरघरमा भित्र्याउँने प्रचलन रहेको छ ।

खासगरी धार्मिक काममा यसलाई अनिवार्य मानिन्छ । व्राह्मणले पूजा गरेर छेदन् गरी जजमानका घरमा पुर्‍याइएर कुश दिने परम्परा अनुसार यो पर्व मनाइन्छ ।

कुशलाई भगवान विण्णुको प्रतिक मानिन्छ । यज्ञ गर्दा होस या आहुति हरेक धार्मिक गतिविधिमा कुश अनिवार्य मानिन्छ । कुशबाट बनेको चकटीमा बसेर ठूल्ठूला पण्डित धार्मिक अनुष्ठानमा सहभागि हुन्छन् । वैज्ञानिक तरिकाले हेर्दा कुशले रक्तचाप नियन्त्रणमा पनि सहयोग गर्ने बताइन्छ ।

कुशे औँसी बुबाको मुख हेर्ने दिनका रुपमा पनि स्थापित रहेको छ । जन्म दिने बुबालाई विशेष सम्मान गरी यो दिन मिठो मसिनो खुवाउने प्रचलन रहेको छ ।
माइतीमा रहेका चेली उपहार बोकेर बुबाको मुख हेर्ने दिनका रुपमा यस दिनलाई लिने गरिन्छ । यस दिन बुवा नहुनेले काठमाडौंको गोकर्णेश्वर महादेव र रसुवास्थित बेत्रावती पुगेर स्वर्गेवास भइसकेका बुबाको श्राद्ध, तर्पण र दान गर्ने प्रचलन छ ।

यी धार्मिक क्षेत्रमा आज ठूलो मेला लाग्छ । यस दिने गरिने श्राद्धले पितृले सहजै स्वर्गमा वास पाउने विश्वास गरिन्छ । यस दिन बुबा नहुनेहरुले वृद्धाश्रममा पुगेर समेत बुबाहरुलाई दान धर्म दिने गर्छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here