यसरी दिनुहोस् ‘नेसनल आईसीटी स्कलरसिप’को लागि आवेदन

काठमाडौं । नेपालमा सूचना तथा सञ्चार प्रविधिको विकास र विस्तारमा विगत २८ वर्षदेखि कार्य गर्दै आईरहेको कम्प्युटर एशोसियसन नेपाल महासंघले प्राविधिक शिक्षा तर्फ प्रदान गर्दै आईरहेको छात्रवृत्तिको ‘नेसनल आईसीटी स्कलरसिप– २०८०’ को लागी आवेदन खुल्ला गरेको छ ।

क्यान महासंघले, राष्ट्रभित्र सूचना प्रविधिको अध्ययन अध्यापन गर्ने गराउने कलेजहरुको सहयोगमा गरीव, जेहेन्दार, विद्यार्थीहरुको लागि छात्रवृत्ति प्रदान गर्दै आएको विदितै छ।

यो छात्रवृत्ति सूचना प्रविधि बिषयमा अध्यापन गराउने कलेज – लर्ड बुद्ध एजुकेसन फाउन्डेसन संगको सहकार्यमा शुरु गरिएको हो । यो छात्रवृत्ति मार्फत यस बर्ष पनि ४९ जना विद्यार्थीहरुलाई आंशिक तथा पुर्ण छात्रवृत्ति प्रदान गर्न लागिएको हो ।

‘नेसनल आइसिटी स्कलरसिप–२०८०’ मा सातै प्रदेशका विद्यार्थीहरूले समान अवसर पाउने गरी प्रत्येक प्रदेशबाट १ जना छात्रालाई पूर्ण र ४२ जनालाई आंशिक छात्रवृत्ति प्रदान गरिने छ ।

ग्रामीण क्षेत्रमा समेत सूचना प्रविधिको विकास र सबै नागरिकमा यसको पहुँच पु-याउन सहयोग पुग्ने अपेक्षा गरिएको छ । विगत चार वर्षदेखि सञ्चालित छात्रवृत्ति कार्यक्रम अन्तर्गत हालसम्म १ सय १० जना विद्यार्थीहरू अध्ययनरत छन् ।

फिमेल मेरिट आइसिटी स्कलरसिपमा प्रत्येक प्रदेशबाट चार जनाका दरले २८ जना र आइसिटी मेरिट स्कलरसिप अन्तर्गत प्रत्येक प्रदेशबाट ३ जनाका दरले २१ जनालाई छात्रवृत्ति प्रदान गरिनेछ ।

क्यान महासङ्घ र लर्ड बुद्ध एजुकेसन फाउन्डेसनबिच भएको सम्झौता अनुसार ४९ जना विद्यार्थीले २ करोड ८३ हजार रुपैयाँ बराबरको छात्रवृत्ति पाउनेछन् । छात्रवृत्ति प्राप्त गर्ने विद्यार्थीहरूले मलेसियाको एसिया प्यासिफिक युनिभर्सिटी अफ टेक्नोलोजी एण्ड इनोभेसनको सम्बन्धन प्राप्त लर्ड बुद्ध एजुकेशन फाउण्डेसनमा स्नातक तह अन्तर्गत वि.एस.सी. आइटिको अध्ययन गर्न पाउनेछन् ।

नेपाल सरकारबाट मान्यता प्राप्त शिक्षण संस्थामा प्लस टु वा सो सरह उत्तीर्ण गरेका र कक्षा १० को गणित विषयमा कम्तीमा ५० प्रतिशत अङ्क ल्याएका विद्यार्थीहरूले छात्रवृत्तिका लागि आवेदन दिन सक्नेछ ।

छात्रवृत्तिका लागि इच्छुक विद्यार्थीले क्यान महासंघको वेबसाइट www.can.org.np र लर्डबुद्ध एजुकेसन फाउन्डेसनको वेबसाइट www.lbef.org मार्फत भदौ २० गतेभित्र आवेदन दिनुपर्नेछ।

छात्रवृत्तिले दुर्गम क्षेत्रका विपन्न वर्गका विद्यार्थीहरूले पनि सूचना तथा सञ्चार प्रविधिको क्षेत्रलाई आफ्नो पेसा-व्यवसाय बनाउन मद्दत पुग्ने क्यान महासङ्घका अध्यक्ष रणजित कुमार पोदारले बताए ।

क्यान महासङ्घसँगको सहकार्यले देश भित्र रहेको डिजिटल–डिभाईड कम गर्न मद्दत पुग्ने र भविष्यमा यस्तै कार्यमा अन्य संस्थाहरूलाई पनि सार्वजनिक–निजी साझेदारीको निम्ति प्रोत्साहन मिल्ने लर्ड बुद्ध एजुकेशन फाउण्डेशनका अध्यक्ष पङ्कज जालानले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here