खुल्ला शारीरिक सुगठन प्रतियोगिताको च्याम्पियन रामबहादुर दाहाल

काठमाडौं, १५ भदौ । हेल्पिङ क्याप नामक सामाजिक संस्थाद्वारा आयोजित खुल्ला शारीरिक सुगठन प्रतियोगितामा रामबहादुर दाहाल प्रथम भएका छन् ।

ललितपुरस्थित हेरिटेज गार्डेनमा शनिबार साँझ आयोजित प्रतियोगितामा मरिचमान लामा दोस्रो र ललित धिमाल तेस्रो भएका हुन् ।

प्रतियोगितामा प्रथम, दोस्रो र तेस्रोलाई क्रमशः रु पाँच लाख, दुई लाख ५० हजार र दुई लाख नगद सहित ताम्रपत्रले सम्मान गरिएको छ ।

दश खेलाडी अन्तिम प्रतिस्प्रधाका लागि छनौट भएकामा ती मध्येबाट शनिवार अन्तिम चरणको प्रतिस्प्रर्धा गरिएको थियो ।

राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले उत्कृष्ट खेलाडीलाई पुरस्कार वितरण गर्दै खेल अनुशासित विधा भएको यसका माध्यमबाट देशमा अनुशासित नागरिक उत्पादन गर्नुपर्ने बताए ।

खेलाडीले गर्ने दुःख र मेहनतले प्राप्त हुने सफलताबाट देशको नाम र शान चम्किने बताउँदै उनले खेल क्षेत्रको विकासका लागि सरकारले लगानी वृद्धि गर्नुपर्ने विचार व्यक्त गरे ।

शारीरिक सुगठनका अन्तर्राष्ट्रिय प्रशिक्षक शिवलाल श्रेष्ठको नेतृत्वमा १० सदस्यीय निर्णायक समितिले खेलाडीको शरीको संरचना, सौन्दर्य, हिडडुलका चाललगायतका आधारमा उत्कृष्ट खेलाडी छनौट गरेको हो ।

प्रतियोगितामा प्रथम भएका खेलाडी दाहालले आगामी मंसिरमा संयुक्त अरब ईमिरेट्समा हुने अन्तर्राष्ट्रिय तहको प्रतियोगितामा प्रतिस्प्रधा गर्ने र त्यसको खर्च आयोजक संस्थाले गर्ने कार्यक्रमका संयोजक राजेन्द्र महर्जनले जानकारी दिए ।

उक्त कार्यक्रममा सहभागी दशै खेलाडीलाई पुरस्कार र उपहार प्रदान गरिएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here