एटीएम ह्याक प्रकरणः यसरी समातिए पाँच चिनियाँ ह्याकर

काठमाडौं, १५ भदौ । शनिवार बेलुका काठमाडौंको विभिन्न बैंकका एटीएम बुथहरुबाट करीब ३ देखि ४ करोड रुपैयाँ चोरी भयो ।

अझै कति चोरी भयो भन्ने बारेमा एकिन तथ्यांक आइसकेको छैन् । एउटा बैंकको एटीएममा अर्को बैंकको भिसा कार्ड प्रयोग गरी पैसा निकालेको भेटिएको छ ।

एटिएमको सिस्टम ह्याक गरी उक्त चोरी भएको हो । नेपाल प्रहरीले उक्त घटनामा संलग्न ५ जना चिनियाँ नागरिकहरुलाई पक्राउ गरीसकेको छ ।

प्रहरीले घटनाबारे जानकारी दिन आइतबार दिउँसो पत्रकार सम्मेलन गरी पक्राउ परेका चिनियाँहरुलाई सार्वजनिक गरेको छ ।

ह्याकरहरु यसरी परे प्रहरीको फन्दामा

दरबारमार्गका विभिन्न एटीएम बुथहरुमा सामान्य दिनभन्दा धेरै मात्रामा पैसा निस्कन थालेपछि केही गडबड भएको आशंकामा बैंकका कर्मचारीले यस बारेमा प्रहरीलाई खबर गरे ।

खबर पाएपछि तुरुन्तै महानगरीय अपराध महाशाखाका प्रहरी नायब उपरिक्षक होबिन्द्र बोगटीको नेतृत्वमा प्रहरी टोली परिचालित भयो ।

प्रहरीले दरबारमार्गको नबिल बैंकको एटीएम बुथबाट पैसा निकालिरहेको अवस्थामा प्रहरीले एकजनालाई फेला पार्यो ।

चिनियाँ नागरिक झु लियानगाङ नामका पासपोर्ट नम्बर इसी१९३७५५८ भएका ती व्यक्तिलाई नियन्त्रणमा लिएर सोधपुछ गर्ने क्रममा उसको साथबाट २० थान नक्कली भिसा कार्ड फेला पर्यो ।

उसले आफू बस्ने होटलको चाबी समेत देखाएपछि तत्काल हात्तिसार स्थित माया मनोहर बुटिक होटलको कोठा नम्बर २०१, ६०२ र ६०४ मा खानतलासी गर्ने क्रममा हतार हतार लिफ्टबाट भाग्दै गरेको अवस्थामा अन्य चार जना चिनियाँ नागरिकहरु पक्राउ परे ।

पक्राउ पर्नेमा लिन जियानमेङ पासपोर्ट नम्बर इ३२३७७७१३, लुओ जियालेइ पासपोन नम्बर इ०९५५२६३७४, क्यु युनकिङ पासपोर्ट नम्बर इएच०२७७६५०, चेन बिन बिन पासपोर्ट नम्बर इ८९०५६८२५ रहेका छन् ।

ती ५ जना चिनियाँहरुबाट सुटकेस र झोलामा गन्न समेत नभ्याएको अवस्थामा प्रहरीले १ करोड २६ लाख २९ हजार ४५ नेपाली रुपैयाँ बरामद गरेको बताएको छ ।

त्यस्तै, ९ हजार १ सय ८ अमेरिकी डलर, ११ सय ९१ चाईनिज मुद्रा, २ सय ५० यूरो, ५ हजार क्याम्बोडियन साथै ८० हङकङ डलर बरामद गरेको प्रहरीले बताएको छ ।

प्रहरीका अनुसार उनीहरुको साथबाट पैसा बाहेक १३२ थान नक्कली भिसा कार्ड, १७ थान सक्कली भिसा कार्ड, कार्ड प्रिन्टर मेसिन १ थान, ६ थान मोबाईल, ल्यापटप, डाटा कार्ड लगायतका सामान पनि बरामद भएको छ ।

नेपाली पनि संलग्न भएको आशंका

पाँचै जना चिनियाँ नागरिक भदौ १३ गते मात्रै चीनबाट त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल हुँदै काठमाडौं आएको खुलेको छ ।

ती चिनियाँ नागरिकहरुले यति छिट्टै यति ठुलो काम कसरी चोरी गर्न सके भन्ने कुरा आश्चर्यजनक भएको प्रहरी वरिष्ठ उपरिक्षक तथा प्रहरी प्रवक्ता उत्तमराज सुवेदीले बताए ।

‘यस घटनामा नेपाली नागरिकहरुको पनि संलग्नता भएको हुनसक्छ’, उनले भने, ‘यति ठुलो काम आएको एकै दिनमा बिना कुनै तयारी गर्न सकिदँैन् ।’

बैंकर ढुंगाना भन्छन्ः जनताको पैसा सुरक्षित छ

एटीएमबाट एकैदिन करोडौं रुपैयाँ चोरी भएको खबर सार्वजनिक भएपछि धेरै सर्वसाधारणहरुमा आफ्नो खाताको पैसा चोरी भयो कि भन्ने आशंका रहेको छ ।

यस्तोमा बैंकर्स एशोसिएसनका अध्यक्ष ज्ञानेन्द्र ढुंगाना भने बैंकको एटीएमबाट पैसा चोरी भएको भएपनि बैंक खातामा रहेको सर्वसाधारणको पैसा भने सुरक्षित रहेको बताए ।

एटीएमबाट पैसा चोरी भए पनि आत्तिनु नपर्ने घटना नभएको उनले बताए ।

‘हामीलाई यो कुराले संवेदनशिल पक्कै बनाएको छ तर यो कुरा धेरै ठुलो कुरा होईन्’, उनले भने, ‘विकसीत देशमा पनि यस्तो घटना भइहन्छ, तर हामी अब सतर्क भएका छौं ।’

‘एटीएम चोरी भएपनि जनताको पैसा सुरक्षित छ लगभग चोरी भएको मध्ये आधा पैसा त बरामद भैसकेको छ अन्य पैसा बरामद नभएपनि त्यो बैंकले बेहोर्छ’, उनले भने ।

विदेशमै बन्यो चोरीको योजना

प्रहरीका अनुसार शनिवार भएको उक्त एटीएम चोरीको योजना विदेशमा भएको हो ।

उनीहरुले विदेशमा चोरीको योजना बनाएको र बिदाको दिन पारेर चोरी गरेको देखिएको प्रहरीले बतायो । यस विषयमा थप अनुसन्धान भईरहेको प्रहरीले बताएको छ ।

प्रहरीका अनुसार ती चिनियाँ नागरिकले एटीएमको सिस्टम ह्याक गरेको पाइएको छ ।

बैंकहरुलाई भिसा कार्डको सेवा प्रदान गर्ने इलेक्ट्रोनिक पेमेन्ट सिस्टम (नेप्स)को सर्भर ह्याक गरी उनीहरुले पैसा निकालेका थिए ।

घटना सार्वजनिक हुनासाथै शनिबार बेलुकी देखि नै सबै बैंकको एटीएम सेवा बन्द गरिएको थियो ।

आइतबार बिहान देखि अधिकांश बैंकको एटीएम सञ्चालनमा आएपनि एक बैंकको एटीएममा अर्को बैंकको कार्डबाट पैसा निकाल्न भने नमिल्ने बनाइएको छ ।

याे पनि पढ्नुहाेस्ः

एटीएम ह्याक प्रकरण पछि उच्च सतर्कता, राष्ट्र बैंककाे आकस्मिक बैठक

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here