नेपालीले सुर्तीजन्य पदार्थको सेवनमै गर्छन् वार्षिक १ खर्ब २१ अर्ब खर्च

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सुर्तीमा मात्रै नेपाली जनताले बर्सेनि रु १ खर्ब २१ अर्ब खर्च गर्ने गरेको तथ्यांक सार्वजनिक गरेको छ ।

विश्वका ८० मुलुकमा गरेको सुर्ती नियन्त्रणमा उद्योगको हस्तक्षेपसम्बन्धी अध्ययन प्रतिवेदन सार्वजनिक कार्यक्रममा मन्त्रालयका अतिरिक्त सचिव डा. दिपेन्द्ररमण सिंहले नब्बे लाख जनताले सुर्ती सेवन गर्ने गरेको र सुर्ती सेवनकै कारण थप करोडौँ रुपैयाँ स्वास्थ्य उपचारमा खर्च हुने गरेको जानकारी दिए ।

सुर्तीजन्य पदार्थको नियन्त्रणमा उद्योगी व्यवसायीको प्रत्यक्ष र अप्रत्यक्ष रुपमा हस्तक्षेप तथा प्रभावित पार्ने कार्य जारी नै रहेको पाइएको छ । स्वास्थ्य अधिकार तथा सुर्ती नियन्त्रण सञ्जालले गरेको अध्ययनमा नेपालमा सुर्ती उद्योगले नीतिगत तहमा नै प्रभाव पारेकै कारण सुर्तीको कर वृद्धि हुन नसकेको उल्लेख गरिएको छ ।

ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले महानगरपालिकाभित्र सुर्तीजन्य पदार्थ अन्तर्गत ‘हुक्का’ सेवन पनि प्रतिबन्ध लगाउन लागिएको जानकारी दिए । उनले ‘सुर्तीजन्य पदार्थ सेवन गर्नुहुँदैन भन्ने कुरा युवा पुस्तामा व्यापक जनचेतना फैलाउनु पर्ने बताए ।

प्रतिवेदन अनुसार सुर्ती उद्योगले सुर्तीजन्य पदार्थ नियन्त्रण ऐन र जनस्वास्थ्य ऐनको बर्खिलाप हुनेगरी सुर्ती उद्योगले विभिन्न विद्यालयलाई आर्थिक सहयोग, दिने, एम्बुलेन्स खरिदलगायतमा सहयोग गरेर सुर्ती उद्योग खराब होइन भने भ्रम छर्ने काम गरिरहेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here