डा. गोविन्द केसीद्वारा घोषित सत्याग्रह स्थगित

काठमाडौं । सामाजिक अभियन्ता डा. गोविन्द केसीले आजबाट सुरु गर्ने भनिएको सत्याग्रह स्थगित गरेको घोषणा गरेका छन् ।

सरकारका प्रतिनिनिधिसँगको छलफलमा आफ्ना माग तीन महिनाभित्र सम्बोधन गर्ने भनेपछि सत्याग्रह हाललाई स्थगित भएको डा केसीले जनाएका छन्।

‘यो अवस्थामा भदौ २९ गते घोषित सत्याग्रह तीन महिनाका लागि स्थगित गरेका छौँ । अब सत्याग्रह सुरु गर्न परेको खण्डमा देशमा रहेको सबै खाले दण्डहीनताका जरोमा रहेको द्वन्द्वकालीन अन्यायको विषयलाई मुख्यरूपमा उठान गर्ने तथा त्यसका लागि जिम्मेवार दुवै पक्षका व्यक्तिहरूलाई जवाफदेही बनाउने पनि जानकारी गराउन चाहन्छौँ,’ डा. केसीद्वारा शुक्रबार जारी विज्ञप्तिमा उल्लेख छ ।

विभिन्न मागहरू राखी साउन २९ गतेदेखि सत्याग्रह राखेकोमा सरकारका विभिन्न प्रतिबद्धताहरूपछि त्यसलाई भदौ २९ गतेसम्म सारिएको थियो ।

हालैका दिनमा शिक्षा र स्वास्थ्य मन्त्रालयका सचिवहरूलगायतका कर्मचारीहरूसितको भेटघाटमा उनीहरूले तीन महिनाको समय माग गरेको उनले जनाएका छन् ।

पदाधिकारी नियुक्तिका मापदण्ड कायम गर्नका लागि कानुनी व्यवस्था गर्ने, एकीकृत प्रतिष्ठान ऐन जारी गर्ने, सबै प्रदेशमा कम्तीमा एउटा सरकारी मेडिकल कलेज वा प्रतिष्ठान पुर्‍याउनेलगायतका कामहरूका लागि उनीहरूले तीन महिनाको समय मागेको डा. केसीले बताएका छन् ।

सबै खाले गलत काम गर्ने राजनीतिज्ञहरु र खास गरी सत्ता र प्रतिपक्षमा हुने मुख्य राजनीतिक दलका शीर्ष नेताहरुलाई जवाफदेही नबनाइ नेपालमा दण्डहीनताको अन्त संभव नभएको भन्दै विज्ञप्तिमा डा केसीले उनीहरुलाई जवाफदेही बनाउन जिम्मेवार नागरिकले मुल भूमिका खेल्नु पर्ने बताएका छन्।

केसीले चिकित्सा शिक्षा सुधारको माग गर्दे विभिन्न अभियान संचालन गर्दै आएका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here