‘बालबालिकासँग केपी बा’, भने -‘मेरो जस्तो कष्टपूर्ण जीवन कसैको नहोस्’

काठमाडौं । संविधानसभा अध्यक्ष तथा नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङको निधनका कारण शोकमा रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली शनिवार बालबालिकासँग रमाएका छन् ।

यसअघि भदौ २८ गते बुबाको मुख हेर्ने दिन पारेर पूर्व निर्धारित ‘बा सँग बालबालिका’ कार्यक्रम नेम्वाङको असामयिक निधनका कारण रोकिएको थियो ।

सोही कार्यक्रम भक्तपुरस्थित इम्पेरियल पार्टी प्यालेसमा भएको हो । ‘बासँग बालबालिका’ कार्यक्रमका सहभागीहरूको प्रश्नको जवाफ दिने क्रममा पूर्व प्रधानमन्त्री ओलीले नयाँ भन्दैमा सबै राम्रा नहुने बताए ।

बालबालिकाले एमाले अध्यक्ष केपी ओलीलाई सोधेको प्रश्नमा भने -म एउटा सामान्य बालक थिएँ । एकदमै सामान्य बालक । पहाड दुर्गम गाउँको मान्छे । हाम्रोतिर बच्चादेखि नै काम सिक्ने चलन थियो । मैले पनि बच्चादेखि नै थुप्रै काम सिकेँ । घरका कामहरु मलाई सबै आउँछन् । तरकारी केलाउनदेखि लिएर घर सफागर्ने देखि कपडा धुनेदेखि सबै कुरा आउँछ । घाँस दाउरा, हलो कोदालो, खेत रोपेर आएको हुँ । मलाई जे पनि सिक्न मन लाग्छ ।

मेरी आमा सानैमा म तीन वर्षको हुँदै बित्नुभयो । मेरो बाल्यकाल हजुरआमासँग धेरै बित्यो । मेरी हजुरआमाले जे काम गर्नुहुन्थ्यो ती काम मैले पनि गरेँ । मैले हलोकोदालो गरेँ । मेरो जीवनमा मैले धेरै दुःख पाएँ । तपाईहरु कसैको पनि मेरोजस्तो कष्टपूर्ण जीवन हुँदै नहोस् । जेलमा निर्मम् यातना दिएर काठको तुर्लुङमा खुट्टा राख्दा भतभति पोल्थ्यो ।

खाने बेला कुटाइ पाइन्थ्यो । १४ वर्ष जेल बस्दा २५ पटक जेल सारियो । यातनाको कुनै सिमा थिएन । मसँग त्यसबेला दुःख सहने कि मर्ने भन्ने दुई विकल्प थिए । मैले धैर्य गुमाइन किनकी मेरो उद्देश्य महान थियो । त्यसैले जस्तासुकै परिस्थिति पनि भोग्न तयार थिएँ ।

कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माकी छोरी स्वीकृतिले संयोजन गरेको कार्यक्रममा विभिन्न विद्यालय र कलेजका विद्यार्थीहरू सहभागी थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here