वाणिज्य बैंकहरुको नयाँ ब्याजदर सार्वजनिक, कुनको कति ?

काठमाडौं । वाणिज्य बैंकहरूले असोज महिनाका लागि ब्याजदर सार्वजनिक गरेका छन् । बैंकहरूले आइतबार सार्वजनिक गरेको ब्याजदर अनुसार निक्षेपको ब्याजदर केहीले घटाएका छन् भने केहीले बढाएका छन् ।

असोजका लागि आधा दर्जन बैंकले ब्याजदर बढाएका छन् भने आधा दर्जन बैंकले घटाएका छन् । यस्तै, आधादर्जन बैंकको स्थिर रहेको छ । नेपाल राष्ट्र बैंकको व्यवस्था अनुसार वाणिज्य बैंकहरूले अघिल्लो महिनाको ब्याजदरको तुलनामा १० प्रतिशत ब्याजदर घटाउन÷बढाउन पाउँछन् । सोही अनुसार बैंकहरूले ब्याजदर बढाएका हुन् ।

साउनदेखि नेपाल बैंकर्स संघले बैंकहरूलाई ब्याजदर निर्धारण गर्न स्वतन्त्र छाडेसँगै बैंकहरूले भदौदेखि आफूखुसी निक्षेपको ब्याजदर तोक्दै आएका छन् । साउनअघि संघले ब्यादरमा हस्तक्षेप गर्दा सबै बैंकको एउटै ब्याजदर हुने गरेको थियो ।

प्राइम कमर्सियल बैंकले असोजका लागि ११.३६ प्रतिशत अफर गरेको हो । यो भदौ महिनाको तुलनामा ४ दशमलव २२ प्रतिशतको वृद्धि हो । भदौ महिनाका लागि बैंकहरुले अधिकतम १० दशमलव ९० प्रतिशत ब्याजदर तोकेका थिए ।

यस्तै, बैंक एभेरेष्ट, हिमालयन र नेपाल इन्भेष्टमेन्ट बैंकले समान ११ दशमलव ०५ प्रतिशत ब्याजदर तोकेका छन् ।

भने ग्लोबल आईएमई बैंक, कुमारी बैंक, सिटिजन्स बैंक, कृषि विकास बैंक र लक्ष्मी सनराइज बैंक भने भदौको भन्दा केहीँ ब्याजदर घटाएर १० दशमलव ५० प्रतिशतसम्म तोकेका छन् । भदौका लागि यी बैंकहरुले १० प्रतिशतदेखि १० दशमलव ९० प्रतिशतसम्म ब्याजदर तोकेका थिए ।

त्यस्तै भदौका लागि ९ दशमलव ९९ प्रतिशत ब्याजदर तोकेको नेपाल एसबीआई बैंकले असोजका लागि १० प्रतिशत ब्याजदर तोकेको छ भने एनएमबी बैंक, माछापुच्छ्रे बैंक र सिद्धार्थ बैंकले भदौ महिनाकै निरन्तरता ९ दशमलव ९९ प्रतिशत नै ब्याजदर तोकेका छन् ।

यस्तै सानिमा बैंकले ९ दशमलव ९५ प्रतिशत, राष्ट्रिय वाणिज्य बैंकले ९ दशालव ५० प्रतिशत, स्ट्यान्डर्ड चार्टर्ड बैंकले ९ दशमलव २९ प्रतिशत र नेपाल बैंकले ९ दशमलव २५ प्रतिशतले ब्याजदर तोेकेका छन् ।

यी बैंकहरुले भदौ महिनाका लागि क्रमशः १० दशमलव ९० प्रतिशत, ९ दशमलव ९९ प्रतिशत, ८ दशमलव ९२ प्रतिशत र १० दशमलव ९० प्रतिशत ब्याजदर तोकेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here