पशुपतिनाथ मूल मन्दिर परिसरको फोटो खिचे मोबाइल जफत

फाइलफोटो

काठमाडौं । हरितालिका (तीज) पर्वका अवसरमा पशुपतिनाथ मन्दिर दर्शन गर्न आउने भक्तजनका लागि सबै तयारी पूरा भएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ ।

कोषले लाम व्यवस्थापन, स्वयंसेवक परिचालन, स्वास्थ्य शिविर एवं निःशुल्क पानी वितरणलगायत तयारी पूरा गरेको हो । पशुपतिनाथ मूल मन्दिर र त्यस परिसरको तस्बिर एवं भिडियो खिचेमा मोबाइल जफत गरी नगद जरिवानासमेत गरिनेछ ।

पशुपतिनाथको मूल मन्दिरभित्र प्राचीनकालदेखि नै तस्बिर एवं भिडियो खिच्न मनाही गरिँदै आएको छ ।

पछिल्लो समय सबैका हातमा मोबाइल हुने र मोबाइल चलाएजसरी तस्बिर खिच्ने क्रम बढ्न थालेपछि नगद जरिवानासहित कारबाही गर्न लागिएको कोषले जनाएको हो ।

सनातनकालदेखि तस्बिर खिच्न मनाही गरिएको स्थानको तस्बिर खिची सामाजिक सञ्जालमा राख्ने, टिकटक बनाउने गर्ने क्रम बढ्न थालेपछि कोषले यस्तो तयारी गरेको हो ।

कोषले गत वर्षदेखि नै गर्भगृहको तस्बिर खिचेमा रु दुई हजार एक सय, मुख्य मन्दिरको तस्बिर खिचेमा रु एक हजार एक सय र मूल मन्दिर परिसरको तस्बिर खिचेमा रु पाँच सय जरिवाना गर्न सुरु गरेको छ । पशुपतिनाथ मूल मन्दिर क्षेत्रमा मोबाइलले तस्बिर खिचे नखिचेको अनुगमन गर्न कोषका कर्मचारी समूहले सुक्ष्म अनुगमन गर्न लागेको छ ।

कोषले तीजका दिन यही असोज १ गते सोमबार बिहान ६ बजेपछि पुरुष दर्शनार्थीलाई पशुपतिनाथ मन्दिर प्रवेश गर्न नदिने भएको छ । पशुपतिनाथका नित्य दर्शनार्थीलाई त्यसअघि नै दर्शन गरेर फर्कन पनि कोषले आह्वान गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here