चिकित्सक संघ र सरकारबीच सहमति, आन्दोलनका कार्यक्रम फिर्ता

काठमाडौं । सरकार र आन्दोलनरत चिकित्सकबीच ६ बुँदे सहमति भएको छ। आइतबार स्वास्थ्य मन्त्रालयमा सरकार र चिकित्सक संघबीच भएको वार्तामा दोषीलाई स्वास्थ्य संस्था तथा स्वास्थ्यकर्मीको सुरक्षासम्बन्धी ऐनअनुसार कारबाही गर्नेसहित ६ बुँदे सहमति भएको हो। सहमतिसँगै चिकित्सिकहरूले थालेको आन्दोलन स्थगित भएको छ।

सरकार र चिकित्सकबीच भएको सहमतिमा सञ्चो अस्पतालमा डाक्टरमाथि कुटपिट गर्ने अभियोगमा पक्राउ परेका ४ जना र पक्राउ पुर्जी जारी भएका अरू ५ जनालाई पक्राउ गरी स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी ऐन २०६६ अनुसार कारबाही गर्ने, उक्त ऐन कार्यान्वयनमा सरकारका सरोकारवाला निकाय प्रतिवद्ध रहने, स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्था सुरक्षा समन्वय समितिलाई सक्रिय बनाउनेलगायत बुँदामा सहमति भएको छ।

हेटौंडास्थित सञ्चो अस्पतालमा कार्यरत चिकित्सकमाथि मृतकका आफन्तले हातपात गरेका थिए। त्यसपछि चिकित्सकहरु आन्दोलनमा उत्रिएका थिए। आइतबार देशभर आकस्मिकबाहेकका सबै सेवा बन्द गरेर चिकित्सकहरु आन्दोलनमा उत्रिएपछि सरकारले वार्ता गरेको हो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here