ऋषि पञ्चमीका दिन किन खाइन्छ कर्कलोको तरकारी ?

काठमाडौं । ऋषि पञ्चमी पर्व आज नेपाली नारीहरूले अरुन्धतीसहित सप्त ऋषिको पूजा आराधना गरी मनाउँदैछन्।

प्रत्येक वर्ष भाद्र शुक्ल पञ्चमीका दिनमा मनाइने यो पर्वमा महिलाले आज बिहानै उठेर नित्य कर्म गरी नजिकको नदी, खोला, ताल, तलैया र पोखरीमा गई तीन सय ६५ वटा दतिवनले दाँत माझ्ने, गाईको गोबर, माटो एवं खरानी लगाई स्नान गर्दछन्।

यस अवसरमा आज काठमाडौँको टेकु, मूलपानीलगायत मुलुकभरका ऋषेश्वर मन्दिरमा पूजाआजाका लागि श्रद्धालु महिला भक्तजनको भीड लाग्ने गर्छ।

महिलाले बिहानै उठेर नजिकको नदी, खोला, ताल, तलैया र पोखरीमा गई ३ सय ६५ दत्तिवनले दाँत माझ्ने, गाईको गोबर, माटो र खरानी लगाई स्नान गर्ने गर्दछन् ।

ऋषि पञ्चमीको दिन अरुन्धतीसहित सप्तऋषिको पूजा गर्नाले मुक्ति मिल्ने धार्मिक विश्वास छ । ऋषि पञ्चमीमा नुहाएर पूजाआजा गरेपछि नरोपी उम्रेका अन्न सामा, कागुनो, कन्दमूल र कर्कलो आदि खाएर एक छाक बस्नुपर्ने व्रतविधि छ ।

किन खाइन्छ कर्कलोको तरकारी

सामान्य तपाई हाम्रो गाउँघरमा पाइने तरकारी हो कर्कलो । यसको तरकारी कसैलाई मन पर्छ भने कसैलाई मन नपर्न सक्छ । यसको पात तथा फल दुवै तरकारीको रुपमा खान सकिने तरकारी हो कर्कलो ।

यसबाट प्रोटिन, पोटासियम, भिटामिन, आइरन लगाएतका तत्वहरु पाइने गर्दछ । हिन्दू नारीको ठूलो चाड तीजको तेस्रो दिन अर्थात् ऋषिपञ्चमीका दिन कर्कलोको तरकारी खाने प्रचलन छ ।

अघिल्लो दिन निराहार ब्रत बसेर पञ्चमीको दिन नदी किनारमा नुवाई–धुवाई गरेर पूजा अर्चना गरेपछि कर्कलोको तरकारीसँग खाना खाने गरिन्छ ।

ऋषिपञ्चमीका दिन कर्कलो नै खानुपर्ने नै भन्ने धार्मिक मान्यता छैन । यद्यपि, सुइरो भएर उम्रिएका कन्दमूल सेवन गर्दा राम्रो हुने कुरा शास्त्रमा उल्लेख छ ।

नुहाई–धुवाई र पूजाआजापछि शुद्ध कन्दमूल खाने मान्यताकै आधारमा कर्कलोको तरकारी खाने चलन सुरु भएको जानकारहरु बताउँछन् । धार्मिक मान्यतासँगै कर्कलोको तराकारी खानुका थुप्रै फाइदा छन् ।

चिकित्सकहरुका अनुसार कर्कलो खाने हो भने रक्त अल्पताबाट बच्न मद्दत पुग्छ । बाहिरका बट्टा र प्याकेटका कुहिएका खानेकुराभन्दा कर्कलो र पिँडालुको तरकारी प्रयोग गर्नु धेरै राम्रो हो ।

चीन, ब्राजिल, ताइवान, बंगलादेश र अफ्रिकामा पनि कर्कलो खाने चलन छ । दक्षिण अमेरिका, कोस्टारिका, निकारागुवा, पनामा, जस्ता देशमा सुप बनाएर खाइन्छ । कतिपय ठाउँमा कर्कलोको जरा अर्थात पिँडालुलाई आलुको सट्टा प्रयोग गरिन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here