काठमाडौंमा ‘द्रुत बस सेवा’, ४५ मिनेटमै रत्नपार्क-सूर्यविनायक

काठमाडौं । सरकारले नेपालमै पहिलो पटक रत्नपार्क-सूर्यविनायक रूटमा द्रुत बस सेवा संचालनमा ल्याएको छ । बुधबार संविधान दिवसको अवसर पारेर रत्नपार्कस्थित शान्तिबाटिकामा भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले द्रुत बस सेवाको उद्घाटन गरेका हुन् ।

उद्घाटनपछि द्रुत बसमा मन्त्री प्रकाश ज्वालासहित बागमती प्रदेशका यातायातमन्त्री लक्ष्मण लम्साल, काठमाडौं महानगरपालिका मेयर बालेन शाह लगायतले यात्रा गरेका छन् । यद्यपि, आज उद्घाटन गरिए पनि सर्वसाधारणका लागि द्रुत बस भने भोलिदेखि मात्र नियमति संचालनमा आउने छ ।

द्रुत बस सेवा काठमाडौंको रत्नपार्कदेखि भक्तपुरको सूर्यविनायकसम्म चल्ने छ । यसअघि डेढ घण्टा लाग्ने यसरुटको यात्रा अब ४५ मिनेटमै गर्न सकिने छ ।

द्रुत बसका लागि रत्नपार्कदेखि सूर्यविनायकसम्म छुट्टै डेडिकेटेड लेन बनाइएको छ । अहिलेकै सडकमा रातो रङ लगाएर दु्रत बसका लागि लेन छुट्याइएको छ ।

द्रुत सेवाका बसहरु रत्नपार्क र सूर्यविनायक दुवैतर्फबाट ५/५ मिनेटको फरकमा छुट्नेछन् । यी बस एम्बुलेन्स जस्तै ट्राफिक लाइटमा समेत रोकिनुपर्ने छैन ।

यात्रु झार्न र चढाउन द्रुत बसलाई १९ वटा स्टेशन तोकिएको छ । माइतीघर, बानेश्वर, तीनकुने, कोटेश्वर, जडिबुटी, लोकन्थली, कौशलटार, ठिमी, सल्लाघारी, लगायत ठाउँमा स्टेशन तोकिएको छ ।

भाडादर अन्य बस सरह नै रहेको छ । अर्थात् अहिले रत्नपार्क-सूर्यविनायक रुटमा अरु सार्वजनिक बसहरुले जति भाडा लिन्छन् द्रुत सेवाका बसमा पनि त्यत्ति नै भाडा तिरे पुग्ने यातायात व्यवस्था विभागले जनाएको छ ।

दु्रत सेवाका बसहरु दैनिक बिहान ९ बजेदेखि ११ बजेसम्म र अपराह्न ४ बजेदेखि साँझ ६ बजेसम्म सञ्चालन हुनेछन् । विभागले यातायात व्यवसायी महासंघसँग सहकारी गरी द्रुत सेवाका लागि २५ वटा बस व्यवस्थापन गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here