स्वास्थ्य बीमा बोर्डका कार्यकारी निर्देशक डा बसौलालाई मन्त्रालयले सोध्यो ११ बुँदे स्पष्टीकरण

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्य बीमा बोर्डका कार्यकारी निर्देशक डा. दामोदर बसौलाले पदीय जिम्मेवारी बहन नगरेको भन्दै तीन दिनको म्याद दिएर ११ बुँदे स्पष्टीकरण सोधेको छ।

मन्त्रालयले तीन दिन भित्र स्पष्टीकरण पेस गर्ने गरी मन्त्रीस्तरीय निर्णयबाट असोज ४ गते बसौलालाई स्पष्टीकरण सोधेको हो।

कार्यकारी निर्देशकको जिम्मेवारीमा रहेर बसौलाले स्वास्थ्य बीमा ऐन, २०७४ को दफा २४ ले निर्दिष्ट गरेका काम, कर्तव्य र अधिकार जिम्मेवारीका साथ सम्पादन नगरेको मन्त्रालयको आरोप छ ।

बसौलालाई सोधिएको स्पष्टीकरणका ११ बुँदा–

१. स्वास्थ्य बीमामा आबद्ध हुने बिमितको उपचारबापतको रकम समयमै समानुपातिक रूपमा ७७ जिल्लामा सोधभर्ना भुक्तानी गराउनुपर्नेमा तपाईंकै मिलमतोमा सीमित अस्पताल र कलेजहरूलाई मात्र दोहोर्‍याएर दिने तर केही अस्पतालहरूको वर्षौँदेखिको सोधभर्ना भुक्तानी नगरेको भनी सञ्चारमाध्यम तथा अस्पतालहरूबाट बारम्बार आएको गुनासोको सम्बोधन किन नगरेको ?

२. स्वास्थ्य बीमा कार्यक्रम देशभरि प्रभावकारी रूपमा लागु हुनुपर्नेमा सो नगरी ११ जिल्लामा बीमा कार्यक्रम किन सुचारु हुन नसकेको ?

३. त्यस बोर्डका ना.सु. प्रकाशमान केसीले बरबुझारथ नगरेको, बिमितको रकम हिनामिना गरेको र समयमै लेखापरीक्षण गरी गराई स्रेस्ता ठिक दुरुस्त राख्नुपर्नेमा पदीय जिम्मेवारी पालना नगरेको तथा त्यसबापतको हानि नोक्सानीको जिम्मेवारी कार्यकारी निर्देशकले लिनुपर्ने वा नपर्ने ? स्पष्ट खुलाइ पेस गर्ने ।

४. त्यस बोर्ड तथा मातहतका कार्यालयको लेखापरीक्षण समयमै गराई स्वास्थ्य बिमा बोर्डको आर्थिक तथा जिन्सी व्यवस्थापनलाई चुस्तदुरुस्त अभिलेख राख्नुपर्नेमा सो नगरी बिमितको रकम यकिन हुनुपर्नेमा सो नहुनुमा तपाईं जिम्मेवार हुनुपर्ने वा नपर्ने ?

५. त्यस बोर्डको स्वीकृत दरबन्दीभित्रका पूर्ति, रिक्त तथा अन्य अवस्थाको विवरण मन्त्रालयमा समयमै उपलब्ध गराउनुपर्नेमा सो नगरी कतिपय प्रशासनिक पदमा पदपूर्ति सोझै अन्य निकायबाट गर्ने गराउने कार्यमा संलग्न भएको देखिएकोले त्यस्तो गर्नुको कारण स्पष्ट गर्ने ।

६. त्यस बोर्डको अनुरोधअनुसार मन्त्रालयको निर्णयबाट कामकाज गर्न पठाएका कर्मचारीहरूलाई कानुनबमोजिम बरबुझारथको समय समेत नदिई रमाना दिएको तथा मन्त्रालयको जिम्मेवार तहबाट निर्देशित गर्दा समेत सुनवाइ नगरी निर्णयको पालना समेत नगर्नुको कारण पेस गर्ने ।

७. तपाईं १३ देखि १५ जुन २०२३ मा जर्मनीको बर्लिनमा भएको ग्लोवल फोरम अन अडप्सन सोसियल प्रोटेक्सन इन बर्लिन कार्यक्रममा मन्त्रालयको भाग लिन स्वीकृतिका लागि मन्त्रालयमा टिप्पणी पेस गरी मन्त्रालयको स्वीकृतिबिना कार्यक्रममा सहभागी हुनुको स्पष्ट कारण खुलाइ पेस गर्ने ।

८. सेवा प्रदायक स्वास्थ्य संस्थाहरूलाई भुक्तानी दिनुपर्ने रकम, आम्दानी हुने रकम (प्रिमियम)को अन्तर अत्यधिक भइ भुक्तानी सन्तुलन बिग्रिएको, वित्तीय व्यवस्थापन अस्तव्यस्त भएको देखिन र बुझिन आएकोले के कति कारण किन र कसरी समस्या भएको हो ? समाधानतर्फ पहल किन नगरेको हो स्पष्ट खुलाइ पेस गर्ने ।

९. म.ले.प.को प्रत्येक वर्षको लेखापरीक्षणको प्रतिवेदनमा बेरुजु बढ्दो क्रममा रहेको, बेरुजु फर्छ्योट स्थिति सन्तोषजनक नभएको, प्रतिवेदनमा उल्लेखित सुधारका सुझावहरू कार्यन्वयन गर्न नसक्नुको कारण स्पष्ट गर्ने ।

१०. स्वास्थ्य बीमा बोर्ड र अन्तर्गतका निकायहरूमा कार्यरत कर्मचारीहरूलाई विभेदपूर्ण व्यवहार गर्ने गरेको सन्दर्भमा स्पष्ट पार्ने ।

११. स्वास्थ्य बीमा बोर्डको आन्तरिक सुशासन कमजोर बनाई प्रशासनिक र आर्थिक व्यवस्थापन पक्ष चुस्तदुरुस्त नहुनुको कारण स्पष्ट गर्ने ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here