एसियाली खेलकुदको पहिलो स्वर्णपदक चीनको खातामा

हाङझाउ । आयोजक राष्ट्र चीनले आइतबार एसियाली खेलकुदको पहिलो स्वर्णपदक जितेको छ । महिला डुंगा दौडमा चीनले पहिलो स्वर्ण हासिल गरेको हो ।

‘लाइटवेट डबल स्कल्स रोइङअन्तर्गत आज भएको फाइनलमा जोउ जियाकी र किउ सिउपिङले स्वर्ण जितेका हुन् । जोउ र किउको चिनियाँ जोडीले ७ मिनेट ६.७८ सेकेन्डमा निर्धारित दूरी पूरा गर्‍यो । उनीहरूले उज्वेकिस्तानका लुइजाखोन इस्लामोभा र मलाइका ताग्माटिभाको जोडीलाई करिब १० सेकेन्डले पछि पारेका थिए ।

उज्वेकिस्तानको जोडीले रजतपदकमा नै चित्त बुझाउनुपर्‍यो । इन्डोनेसियाका चेल्सी कर्पुट्टी र रहमा मुतियारा पुत्रीले कास्य जित्न सफल भएका छन् ।

महिलातर्फको १० मिटर एयर राइफल प्रतियोगितामा भारतका रमिता, मेहुली घोष र आशी त्रिकुटले रजतपदक जितेर पहिलो दिन विजयी सुरुआत गरेका छन् । भारतीय सेनाका खेलाडीद्वय अर्जुनलाल जाट र अरविन्दले पुरुष लाइटवेट डबल स्कल्समा रजतपदक नै जितेका छन् । रोइङमा नै पुरुषको अर्को टोलीले रजतपदकमा कब्जा जमाएको छ ।

भारतीय महिला क्रिकेट टोलीले पनि सेमिफाइनलमा बंगलादेशलाई आठ विकेटले पराजित गर्दै रजतपदक सुनिश्चित गरेको छ । हालसम्म भारतले पाँच रजतपदक आफ्नो पोल्टामा पारेको छ । रासस/एएफपी

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here