सञ्चार विभागले भन्यो-‘लाइसेन्स नलिई वाकीटकी बिक्री र प्रयोग नर्गनू’

काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयअन्तर्गतको सूचना तथा प्रसारण विभागले लाइसेन्स नलिई वाकीटकी बिक्री वितरण नगर्न आग्रह गरेको छ ।

पछिल्लो समय वाकीटकी लगायतका रेडियो यन्त्रहरू विभिन्न वेबसाइट तथा सामाजिक सञ्जाल लगायतका माध्यमहरू मार्फत विज्ञापन गर्दै कारोबार भएकोमा गम्भीर ध्यानाकर्षण भएको बताएको हो ।

विना लाइसेन्स खरिद बिक्री तथा प्रयोग गरेको पाइएमा प्रचलित कानुन बमोजिम कारबाही गर्ने चेतावनी पनि विभागले दिएको छ ।

नेपालमा वाकीटकीलगायत रेडियो फ्रिक्वेन्सी प्रयोग भई सञ्चालन हुने रेडियो यन्त्रहरूको आयात गर्न बिक्री वितरण गर्न, राख्न तथा प्रयोग गर्न रेडियो ऐन २०१४ तथा रेडियो (सञ्चार) लाइसेन्स नियमावली २०४९ बमोजिम लाइसेन्स लिनुपर्ने प्रावधान रहेको छ,” विभागले सार्वजनिक सूचना जारी गर्दै भनेको छ ।