इजरायलमा मारिएका साहका परिवारलाई मधेस प्रदेश सरकारले पाँच लाख दिने

जनकपुरधाम । मधेस प्रदेश सरकारले इजरायलमा विद्रोही समूह हमासको आक्रमणमा परी ज्यान गुमाएका धनुषाको लक्ष्मीनिया गाउँपालिका–४ सपहीका २२ वर्षीय आनन्द साहको परिवारलाई पाँच लाख रुपैयाँ राहतस्वरुप उपलब्ध गराउने भएको छ ।

मुख्यमन्त्री सरोजकुमार यादवले मंगलबार साँझ एक शोक वक्तव्यमार्फत मृतकका परिवारमा समवेदना व्यक्त गर्दै पीडित साह परिवारलाई प्रदेश सरकारको तर्फबाट सो राहत प्रदान गरिने जानकारी दिए ।

मुख्यमन्त्री यादवले आक्रमणमा परी ज्यान गुमाउन पुगेका १० नेपाली युवाप्रति श्रद्धाञ्जलि व्यक्त गर्दै युद्धमा सामेल नभएका निहत्था र निर्दोष व्यक्तिमाथि आक्रमण हुनु हमासको संवेदनहीन र अमानवीय कृत्यको संज्ञा दिए ।

विज्ञप्तिमा भनिएको छ ‘त्यस आक्रमणले १० परिवारको सपना भताभुंग भएको छ । त्यो घटनाले हामी नेपाली शोकमग्न छौँ । अनाहकमा ज्यान गुमाउने युवाप्रति हार्दिक श्रद्धासुमन व्यक्त गर्दै शोकसन्तप्त परिवारलाई यो महाविपत्तिको असह्य पीडा र वेदना सहन गर्ने शक्ति मिलोस् भनी प्रार्थना गर्दछु ।’ रासस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here