काठमाडौं । नेपालबाट १३ दिन ढिलो गरी यो वर्षको मनसुन प्रणाली आइतबार (असोज २८) बाहिरिएको छ । नेपालबाट मनसुन पूर्ण रूपमा बाहिरिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
नेपालबाट मनसुन बाहिरिने सरदर मिति अक्टोबर २ तारिख हो । यो वर्ष १३ दिन ढिलो गरी मनसुन बाहिरिएको महाशाखाले जानकारी गराएको छ ।
सुदूरपश्चिम, कर्णाली सहितका प्रदेशमा भने गत साता नै मनसुन बाहिरिएको थियो। मनसुन पश्चिम हुँदै क्रमशः देशको पूर्वी भेगबाट बाहिरिन्छ।
यो वर्ष सरदर मितिभन्दा एक ढिलो गरी जुन १४ (जेठ ३१) मा नेपालमा मनसुन भित्रिएको थियो । यो वर्षको मनसुन १२४ दिनजति नेपालमा रहेको महाशाखाले जनाएको छ ।
जल तथा मौसम विज्ञान विभागले मनसुन सकिए पनि पश्चिमी वायुको प्रभावका कारण यो साता देशका विभिन्न स्थानमा पानी पर्न सक्ने जनाएको छ।
विभागले जारी गरेको विज्ञप्तिमा पश्चिमी न्यूनचापीय प्रणालीका कारण सोमबारदेखि देशको सुदूरपश्चिम, कर्णाली र लुम्बिनीका विभिन्न क्षेत्रमा मेघ गर्जन सहित हल्का वर्षा हुन सक्ने जनाइएको छ।