नेपाल भर्सेस ओमान: सन्दीप लामिछानेलाई विश्वकीर्तिमान बनाउने मौका

काठमाडौं । अर्को वर्ष हुने आईसीसी टी-२० विश्वकपमा स्थान पक्का गरिसकेको घरेलु टोली नेपाल र ओमान एसिया क्षेत्र छनोटको उपाधिका लागि आज फाइनल खेल्दैछन् । खेल कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा बिहान ११ बजे सुरु हुनेछ ।

ओमानविरुद्ध सन्दीप लामिछानेलाई विश्वकीर्तिमान बनाउने पनि मौका छ । टी–२० अन्तर्राष्ट्रियमा सर्वाधिक छिटो १ सय विकेट लिने बलरको कीर्तिमान बनाउने मौका रहेको हो ।

सन्दीपले अहिलेसम्म ५१ खेलमा ६.२७ को इकोनमीमा ९६ विकेट लिएका छन् । यदि ओमानविरुद्ध ४ विकेट लिन सके उनले वर्ल्ड रेकर्ड बनाउने छन् । हालसम्म टी–२० मा सर्वाधिक छिटो १ सय विकेट लिने कीर्तिमान अफगानिस्तानका स्टार राशिद खानको नाममा छ ।

उनले ५३ खेलमा यो उपलब्धि हासिल गरेका थिए । यस्तै, यो सूचीको दोस्रो र तेस्रो स्थानमा क्रमशः श्रीलंकाका लसिथ मलिंगा र न्यूजिल्याण्डका इश सोढी रहेका छन् । एकदिवसीय अन्तर्राष्ट्रियमा भने सन्दीप सर्वाधिक छिटो १ सय विकेट लिने बलर हुन् ।

सन्दीपले राशिद खानलाई पछि पार्दै सो विश्वकीर्तिमान बनाएका हुन् । यसपटक टी–२० मा पनि उनीसामु राशिदलाई नै पछि पारेर सर्वाधिक छिटो १ सय टी–२० विकेट लिने विश्वकीर्तिमान बनाउने मौका छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here