अष्ट्रेलियाले जित्यो विश्वकप क्रिकेटको उपाधि

काठमाडौं । भारतलाई ६ विकेटले हराउँदै एक दिवसीय विश्वकप क्रिकेटको उपाधि अष्ट्रेलियाले जितेको छ ।

भारतले दिएको २४१ रनको लक्ष्य पछ्याएको अष्ट्रेलियाले ४३ ओभरमा मात्र ४ विकेट गुमाएर भेट्टायो । अष्ट्रेलियाका लागि सुरुमै धरमराएको इनिङ सम्हाल्दै ट्राभिस हेडले १३७ रन, मार्नस लबुसेनले ५८रन बनाए ।

यसअघि भारतले बिराट कोहली र केएल राहुलको अर्धशतकीय पारीको मदतमा निर्धारित ५० ओभरमा सबै विकेट गुमाएर २४० रन बनाएको थियो । घरेलु टोली भारतलाई स्तब्ध पार्दै अष्ट्रेलिया छैटौं पटक विश्वविजेता बन्न सफल भयो।

सन् १९८७ मा पहिलो पटक उपाधि जितेको अष्ट्रेलियाले सन् १९९९, २००३ र २००७ मा उपाधि जितेर उपाधिमा ह्याट्रिक गर्ने कीर्तिमान बनाएको थियो। यस्तै अष्ट्रेलियाले २०१५ मा पाँचौ पटक उपाधि जित्ने क्रममा न्युजिल्यान्डलाई पराजित गरेको थियो।

भारतको तेस्रो पटक उपाधि जित्ने लक्ष्य भने पूरा हुन सकेन। सन् १९८३ मा पहिलो उपाधि जितेको भारत पछिल्लो पटक २०११ मा च्याम्पियन बनेको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here