इलाम बस दुर्घटना: मृतकको संख्या तीन पुग्यो

काठमाडौं । इलामको रोङ गाउँपालिका–३, कोल्बुङमा भएको बस दुर्घटनामा घाइते भएका मध्ये थप दुईजनाको उपचारका क्रममा मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय झापाका अनुसार आइतबार भएको दुर्घटनामा घाइते भएकी धनुषाको धनुषाधाम नगरपालिका–९, धारापानीकी ३५ वर्षीया मनवती लामा र सोही वडाकी ६० वर्षीया शान्तमाया तामाङको उपचारका क्रममा मृत्यु भएको हो ।

बिर्तामोडस्थित बीएन्डसी अस्पतालमा लामाको आइतबार र तामाङको आज बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता खगेन्द्र रिजालले जानकारी दिए ।

दुर्घटनामा आइतबार साँझ धनुषाधाम–९ कै १२ वर्षीय अर्पण लामाको घटनास्थलमै मृत्यु भएको थियो । बस दुर्घटनामा मृत्यु हुनेका संख्या तीन पुगेको उनले बताए ।

धनुषाबाट कन्याम घुम्न आएको ना६ख ८४२४ नम्बरको बस फर्कने क्रममा सडकबाट अन्दाजी ३०० मिटर तल खसेको थियो । बस दुर्घटनामा चालकसहित ३७ जना घाइते भएका थिए । घाइतेमध्ये तीनजनाको मत्यु भइसकेको छ । अरू घाइतेको हाल बीएन्डसी अस्पतालमै उपचार भइरहेको प्रहरीले जनाएको छ ।

घाइतेमध्ये अरू दुईजनाको अवस्था पनि चिन्ताजनक छ । उनीहरूको भेन्टिलेटरमा उपचार भइरहेको छ ।

बसका चालक धनुषाकै जनकपुरधाम उपमहानगरपालिका–२३ का ४५ वर्षीय हरिकिन राउतलाई इलाका प्रहरी कार्यालय पशुपतिनगरले नियन्त्रणमा लिएको छ । उनको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । रासस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here