आजबाट चाडबाड लक्षित सहुलियत पसल, ७३ स्थानमा खुल्ने

फाइलफोटो

काठमाडौं, २३ भदौ । दशैं, तिहार र छठलाई समेत लक्षित गरी सोमबारदेखि सुपथ मूल्यका सहुलियत पसल संचालनमा आउँदैछन् ।

सोमबार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मात्रिका यादवले रामशाहपथबाट सुलभ मूल्यका पसलको शूभारम्भ गर्ने कार्यक्रम तय भएको छ ।

आइतबार मन्त्रालयमा बसेको बैठकले सुपथ मूल्यका पसल संचालन गर्ने सम्बन्धमा टुंगो लगाएको हो । दशैं, तिहार र छठ पर्व अवधिभर सरकारले देशका ७३ स्थानमा सुपथ मूल्य पसल चलाउने भएको छ ।

निजी क्षेत्रबाट हुने अधिक मंहगी नियन्त्रण गर्ने उपाय स्वरुप सरकारले हरेक वर्ष यस्ता पसल संचालन गर्छ । जसले गर्दा कालोबजारी र मंहगी नियन्त्रण हुने विश्वास गरिन्छ । बैठकले सुपथ मूल्य पसलको संख्या, स्थान र छुट दिने सम्बन्धमा टुंगो लगाएको छ ।

साल्ट ट्रेडिङ, खाद्य व्यवस्था तथा व्यापार कम्पनी र दूग्ध विकास संस्थाले यस्ता पसल सञ्चालन गर्नेछन् । काठमाडौंमा ३ वटा घुम्ती पसल संचालनको योजना छ ।

साल्ट ट्रेडिङले देशभर ३५, खाद्य व्यवस्था तथा व्यापार कम्पनीले २३ र दुग्ध विकास संस्थानले १५ वटा सहुलियत पसल सञ्चालन गर्ने गरी जिम्मेवारी तोकिएको मन्त्रालयले उल्लेख गरेको छ ।

काठमाडौं उपत्यका भित्र कालिमाटी, कोटेश्वर, टेकु, सिंहदरबार, सतुंगल, ललितपुर, भक्तपुरलगायत स्थानमा घुम्ती पसल संचालन हुनेछन् ।

उपत्यका बाहिर, बनेपा, बिर्तामोड, विराटनगर, राजविराज, लाहान जस्ता शहरमा यस्ता पसल खुल्नेछन् । सहुलियत पसलमा नुन, चामल, चीनी, गेडागुडीदेखि मासुमा हुने छूट तय गरिएको छ ।

यस्तो पसलमा किनमेल गर्दा चामलमा ५ देखि १० रुपैयाँ, जिउँदो खसीमा प्रतिकिलो १० रुपैयाँ, फापर तथा सिमिमा प्रतिकिलो १० रुपैयाँ छूट हुनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here