स्वदेश फर्किए प्रधानमन्त्री प्रचण्ड, भने-‘सरकार परिवर्तनको कुनै सम्भावना छैन’

काठमाडौं । संयुक्त राष्ट्र संघीय वातावरण सम्मेलन (कोप–२८) मा सहभागी भएर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड स्वदेश फर्किएका छन् । गत बुधबार यूएई प्रस्थान गरेका प्रधानमन्त्री प्रचण्ड आफ्नो ५ दिने कार्यक्रम सकेर आइतबार साँझ साढे ६ बजे काठमाडौँ अवतरण गरेका हुन् ।

उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्रतिनिधि सभाका सभामुख देवराज घिमिरे, उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्का, उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, मन्त्रीहरु, नेपाल सरकारका उच्च पदस्थ कर्मचारीहरुले स्वागत गरे ।

१४–१६ मंसिरमा भएको सो सम्मेलनमा सहभागी हुन प्रधानमन्त्रीसहित मन्त्रिपरिषद्‌बाट वन तथा वातावरणमन्त्री वीरेन्द्र महतो पनि त्यसतर्फ प्रस्थान गरेका थिए ।

शनिबार उनले कोप २८ लाई सम्बोधन गर्दै विकसित देशहरूका कारण नेपालजस्तो कम विकसित मुलुकहरूले जलवायु परिवर्तनको मार खेप्नु परेको बताएका थिए । कार्बन उत्सर्जनमा शून्य योगदान भएपनि नेपाल जलवायु परिवर्तनको नकारात्मक असर भोग्न बाध्य भएको उनको भनाइ थियो ।

‘मन्त्रिपरिषद् पुनर्गठनबारे सञ्चारकर्मीले राखेको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्रीले भने – ‘सरकार गठन भएको बेलादेखि नै को हट्ने, गृहमन्त्री हट्ने चर्चा चल्ने गरेको छ, तर अहिले कुनै त्यस्तो छलफल छैन, सोचिएको पनि छैन ।’

आफ्नो दिमागमा मन्त्रिपरिषद् पुनर्गठनबारे कुनै सोच नभएको उनले बताए । ‘यो सबै हल्ला मात्र हो, यसमा कुनै सत्यता छैन’ उनले थपे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here