पेले र नेयमारजस्ता खेलाडी उत्पादन गरेको ‘सान्तोस क्लब’ रेलिगेसनमा

काठमाडौं । ब्राजिलियन सिरी ‘ए’को क्लब सान्तोस रेलिगेसनमा परेको छ । ब्राजिलको सिरी ‘ए’ को अन्तिम खेलमा फोर्टालेजासँग २-१ गोलअन्तरले पराजित भएपछि १ सय ११ वर्षे इतिहास बोकेको सान्तोस पहिलोपटक रेलिगेसनमा परेको हो ।

सान्तोस चर्चित फुटबलर पेले र ब्राजिलका सर्वाधिक गोलकर्ता नेयमारको पूर्वक्लब हो ।

रेलिगेसनबाट जोगिन सान्तोसलाई बुधबार रातिको खेलमा जित निकाल्नैपर्ने थियो । सान्तोस अन्तिम समयमा सम्हालिन नसक्दा फोर्टालेजासँग स्तब्ध हुँदै दोस्रो डिभिजनमा झरेको हो ।

लिगका पछिल्ला पाँच खेलमा जितविहीन बनेपछि सान्तोस ४३ अंकसहित १७औँ स्थानमा सीमित बनेको छ । ब्राजिलियन सिरी ‘ए’बाट सान्तोससँगै गोइएस, कोरिटिबा र अमेरिका–एमजी रेलिगेसनमा परेका छन् ।

पेलेकै उच्च प्रदर्शनप्रेरित सान्तोसले १९५० र १९६० को स्वर्णिम युगमा छवटा ब्राजिलियन लिगको उपाधि जितेको थियो ।सान्तोसले १९६२ र १९६३ मा कोपा लिबर्टाडोरेस र दक्षिण अमेरिकाको प्रतिष्ठित च्याम्पियन्स लिगको उपाधि जित को थियो ।

त्यही वर्ष सान्तोसले इन्टरकन्टिनेन्टल कपको उपाधि जितेको थियो । जुन प्रतियोगितामा युरोप र दक्षिण अमेरिकाका शीर्ष क्लबको पनि सहभागिता थियो । पेलेबाहेक सान्तोसले एसी मिलानका पूर्वस्ट्राइकर रोबिन्हो, ब्राजिलका सर्वाधिक गोलकर्ता नेयमार र रियल म्याड्रिडका फरवार्ड रोड्रिगोजस्ता उत्कृष्ट खेलाडीहरू उत्पादन गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here