पशुपतिमा बालाचतुर्दशीको तयारी पूरा, कैलाश चौरमा बत्ती बाल्न नपाइने

काठमाडौं । पशुपति क्षेत्र विकास कोषले बालाचतुर्दशी पर्वका निम्ति सम्पूर्ण तयारी पूरा भएको जनाएको छ । पशुपतिनाथ मन्दिर परिसरमा आइतबार रातिदेखि सुरु हुने बालाचतुर्दशी पर्वका निम्ति सम्पूर्ण तयारी पूरा गरेको कोषका सदस्यसचिव राजुकुमार खत्रीले जानकारी दिए ।

कोषले बालाचतुर्दशीका अवसरमा दीप प्रज्वलनदेखि ‘कोर’ क्षेत्रमा शतबीज छर्ने व्यवस्था मिलाइएको जनाएको छ ।

आफ्ना दिवंगत पितृहरूको सम्झनामा मृतकका आफन्तजनबाट रातभर दीप प्रज्वलन गरी भोलिपल्ट शतबीज छर्ने भएकाले उनीहरूको सुरक्षादेखि सहज ढंगले कार्य सम्पन्न गर्नेसम्मको व्यवस्था मिलाइएको कोषका कार्यकारी निर्देशक डा. घनश्याम खतिवडाले बताए ।

उनले भने, “नेपाल प्रहरी र सशस्त्र प्रहरीको सुरक्षा मूल शिविर बनाई संयुक्त सुरक्षा योजनाअनुसार भक्तजनको सुरक्षाका लागि कोर क्षेत्रमा शतबीजमार्ग र बत्ती बाली बस्ने स्थानमा पर्याप्त सुरक्षाकर्मी खटाइने भएको छ ।”

कोषले पर्व, मेला र विशेष अवसरमा चोरीका घटना पनि हुन सक्ने सभावनालाई मध्यनजर गरी बहुुमूल्य गरगहना लगाएर नआउन पनि भक्तजनलाई आग्रह गरेको छ । छालाको जुत्ता पनि नलगाइदिन अनुरोध गरिएको छ ।

मदिराजन्य पदार्थ बिक्री–वितरण हुन नदिन तथा अन्य अवाञ्छित गतिविधि नहोस् भन्नका निम्ति विशेष सुरक्षा टोली परिचालन गर्नुका साथै ठाउँठाउँमा सीसी क्यामेरा जोड्ने काम गरिएको कोषका सदस्यसचिव खत्रीले बताए ।

यस्तै, बालाचतुर्दशी पर्वमा जथाभावी शतबीज नछर्न कोषले आग्रह गरेको छ । आउँदो सोमबार शतबीज छर्दा १३ बुँदे नियम पालना गर्न भक्तजनलाई अनुरोध गरिएको छ ।

कोषले ढुंगा छापेको ठाउँमा शतबीज नछर्न र वृक्षरोपण गरेको ठाउँ र बिरुवाको संरक्षण गर्न तथा बालबालिकाको साथमा परिचयपत्र राख्न आग्रह गरिएको छ । कोषले कैलाश चौरमा पाल राखी बत्ती बाल्न नपाइने तर शतबीज छर्न पाइने जनाएको छ ।

बत्ती बाल्नका निम्ति कैलाशको फेदी, पशुपतिनाथ मन्दिर परिसर, पशुपति कोर क्षेत्र, हंशमण्डपसहित वाग्मती नदीको खाली किनारामा व्यवस्था गरिएको जनाएको छ ।

बालाचतुर्दशी पर्वलाई लक्षित गरी पशुपति मन्दिरको वरपरका क्षेत्रमा माछामासु, जाडरक्सी र अन्य नशालु लागुपदार्थ सेवन तथा बिक्री–वितरणमा रोक लगाइएको छ । आफ्ना पितृको स्मृतिमा अघिल्लो दिन रातभर बत्ती बालेर जाग्राम बस्ने र भोलिपल्ट बिहानै शतबीज छर्ने चलन छ ।

सदस्यसचिव खत्रीले भने, “बालाचतुर्दशी पर्वलाई मध्यनजर गर्दै हामीले जिल्ला प्रशासन कार्यालयमार्फत राष्ट्रदेव भगवान् पशुपतिनाथ मन्दिर परिसर र आसपासका विभिन्न क्षेत्रमा मासु तथा मदिरा उत्पादन, बिक्री, ओसारपसार, भण्डारण र सेवन गर्न नपाइने सूचना प्रकाशित गरेका छौँ । उक्त सूचनाको बर्खिलाप हुने गरी कुनै काम गरेमा प्रचलित कानुनबमोजिम कारबाही हुनेछ ।”

यसैगरी, बालाचतुर्दशी पर्वका निम्ति पशुपतिनाथमा आउने भक्तजनका लागि नेपाली सेना र पशुपति क्षेत्र विकास कोषले निःशुल्क रूपमा (१३ हजार स्क्वाएर फिट) टेन्ट तथा पार्किङको व्यवस्था मिलाएको उनले बताए । उनले भने, “बालाचतुर्दशी पर्व लाग्ने कैलाशडाँडा र कोर एरियालाई व्यवस्थित बनाइएको छ । भक्तजनलाई कुनै समस्या आउन दिइने छैन ।” रासस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here