पाइपलाइनको उद्घाटनसँगै घट्यो पेट्राेल, डिजेल र मट्टीतेलकाे मुल्य

तस्वीरः रासस

काठमाडौं, २४ भदौ । नेपाल आयल निगमले आज देखि पेट्रोल, डिजेल र मट्टीतेलको मुल्य घटाएको छ ।

निगमले मंगलबार दिउँसो १२ बजेदेखि लागु हुने गरी पेट्रोल, डिजेल र मट्टीतेलको मुल्य प्रतिलिटर २ रुपैयाँको दरले घटाएको हो । मुल्य घटेपछि अब काठमाडौंमा पेट्रोल प्रतिलिटर १०७ रुपैयाँ पर्नेछ भने डिजल र मट्टीतेल प्रतिलिटर ९५ रुपैयाँ पर्नेछ ।

काठमाडौं उपत्यका बाहिरका चारआली (झापा), विराटनगर, महेन्द्रनगर, विरगञ्ज, अमलेखगञ्ज, भलवारी, नेपालगञ्ज र धनगढीमा भने पेट्रोलको मुल्य प्रतिलिटर १०५ रुपैयाँ ५० पैसा र डिजल मट्टीतेल ९३ रुपैयाँ ५० पैसा तोकिएको छ ।

यसैगरी पोखरा र दाङमा भने पेट्रोल प्रतिलिटर १०६ रुपैयाँ ५० पैसा, डिजल मट्टीतेल प्रतिलिटर ९४ रुपैयाँ ५० पैसा तोकिएको छ ।

खाना पकाउने एलपी ग्याँस र हवाई इन्धनको मुल्य भने घटबढ भएको छैन । निगमले नेपाल र भारतका प्रधानमन्त्रीले संयुक्त रुपमा नेपाल भारत पेट्रोलियम पाइपलाइनको उद्घाटन गर्ने दिन नै पारेर पेट्रोलियम पदार्थको मुल्य घटाएको हो ।

निगमले स्वत स्वचालित मुल्य संरचना अनुसार मुल्य समायोजन गरेको बताएको छ । पेट्रोलियम पाइपलाइनको उद्घाटन पछि डिजल आयात सहज हुने पनि निगमले बताएको छ ।

स्वचालित मुल्य संरचना अनुसार हालसम्म २५ पटक पेट्रोलियम पदार्थको मुल्य घटेको र १८ पटक बढेको पनि निगमले जानकारी दिएको छ ।

पेट्रोलियम पदार्थको मुल्य समायोजनपश्चात नेपालमा भारतमा भन्दा पेट्रोल डिजेलको भाउ धेरै नै सस्तो भएको पनि निगमले बताएको छ ।

हालको मुल्य अनुसार भारतको रक्सौलमा भन्दा नेपालको विरगञ्जमा पेट्रोल प्रतिलिटर १५ रुपैयाँ ६१ पैसा र डिजल प्रतिलिटर १६ रुपैयाँ ३० पैसाले सस्तो भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here