विमानस्थल भन्सारको सीसीटीभी फुटेज गायब, भेटियो २१ दिनको मात्रै !

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार कार्यालयमा २१ दिनको मात्र सीसीटीभी फुटेज स्टोरेज हुने गरेको भेटिएको छ ।

पछिल्लो १४ किलो सुन तस्करी प्रकरणको छानबिनका लागि बनाइएको समितिले नै कानुनअनुसार सीसीटीभी फुटेज नपाएको हो। तर, नेपालको कानूनअनुसार ३ महिनाको सीसीटीभी फुटेज सुरक्षित राख्नुपर्ने व्यवस्था छ ।

मंसिर २१ गते दुबईबाट नेपाल तस्करी भएर आएको १४ किलो सुनको अध्ययन गर्ने क्रममा भन्सार कार्यालयमा २१ दिनको मात्रै सीसीटीभी फुटेज भेटिएको छानबिन समितिले जनाएको छ ।

मंसिर २१ गते त्रिभुवन विमानस्थलबाट १४ केजी सुनसहित गोरखाका चन्द्र घले पक्राउ परेका थिए । ५५ वर्षीय घले २१ गते फ्लाइ दुबईको विमानबाट नेपाल आएका थिए ।

उनले स्टकोट जस्तो विशेष कपडा नै सिलाएर गोजी बनाइ २ केजीका ७ वटा विस्कुट आकारको सुन लुकाएर ल्याएका थिए । एक वर्षमा ५२ पटकसम्म दुबई गएको उनको ट्राभल हिस्ट्री देखिएको छ ।

घलेको साथबाट बरामद भएको १४ केजी सुनको विषयमा छानबिन गर्न प्रमुख भन्सार अधिकृत मनिराम पौडेलको संयोजकत्वमा ६ सदस्यीय समिति गठन गरिएको थियो ।

उक्त समितिले आइतबार छानबिन प्रतिवेदन बुझाएको छ । उक्त अवसरमा छानबिन समितिका संयोजक पौडेलले विमानस्थल भन्सार कार्यालयमा २१ दिनको मात्रै सीसीटीभी फुटेज भेटिएको जनाएका हुन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here