बैंकिङ प्रणालीमा अधिक तरलता भएपछि एकैदिन ३५ अर्ब खिच्दै राष्ट्र बैंक

काठमाडौं । बैंकिङ प्रणालीमा अधिक तरलता कायम भएपछि नेपाल राष्ट्र बैंकले एकैदिन ३५ अर्ब रुपैयाँ खिच्ने भएको छ । राष्ट्र बैंकले मंगलबार निक्षेप संकलन बोलकबोल मार्फत ३५ अर्ब रुपैयाँ तान्ने भएको हो ।

बढ्दो निक्षेपको तुलनामा कर्जा विस्तार हुन नसक्दा अधिक तरलता भएपछि त्यसलाई व्यवस्थापन गर्न राष्ट्र बैंकले १४ दिनका लागि उक्त रकम खिच्न लागेको हो ।

बोलकबोलमा सहभागी हुन इच्छुक बैंक तथा वित्तीय संस्थाले भोलि दिउँसो २ बजेसम्म आवेदन दिनसक्ने राष्ट्र बैंकले जनाएको छ । बैंक तथा वित्तीय संस्थाहरूले कम्तीमा १० करोड र बढीमा ५ करोडले भाग जाने गरी जति रकम पनि बोलकबोल गर्न सक्नेछन् ।

प्रणालीमा पैसा थुप्रिएपछि पछिल्लो ३ सातामा मात्रै राष्ट्र बैंकले प्रणालीबाट डेढ खर्ब रुपैयाँ बढी तरलता खिचेको छ । यद्यपि, यस अवधिमा प्रणालीबाट खिचेको केही रकम परिपक्क भई फेरि प्रणालीमै गएको छ ।

हाल प्रणालीमा ६ खर्बभन्दा बढी तरलता थुप्रिएको छ । तरलता सहज भएसँगै कर्जा निक्षेप अनुपात (सीडी रेसियो) ८० प्रतिशत हाराहारीमा आएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here