काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेमाथि लागेको बलात्कार मुद्दामाथि जिल्ला अदालत काठमाडौंमा सुरु भएको सुनुवाइले बुधबार पनि निरन्तरता पाएको छ । गत आइतबारदेखि सन्दीपविरुद्धको मुद्दामा न्यायाधीश शिशिरराज ढकालको इजलासमा निरन्तर सुनुवाइ भएको हो ।
बुधबार पनि सुनुवाइ नसकिएपछि जिल्ला अदालतले मुद्दालाई हेर्दाहेर्दैमा राखेको छ । बलात्कार मुद्दामा जाहेरवाला किशोरीको तर्फबाट बहस सकिएको छ। सन्दीपका कानून व्यवसायीको बहस र पीडित पक्षको जवाफी बहसपछि इजलासले निर्णय सुनाउनेछ ।
बिहीबार पनि सन्दीपकै तर्फबाट बहस हुनेछ। बहस सकिए बिहीबार नै नभए शुक्रबार फैसला हुने सम्भावना छ। २०७९ भदौ ५ गते राति सन्दीपले बलात्कार गरेको भन्दै किशोरीले जाहेरी दिएकी थिइन्। जिल्ला अदालतले पुर्पक्षका लागि सुरुमा थुनामा पठाउने आदेश दिएको थियो।
तर सन्दीपलाई थुनामा पठाउने जिल्लाको आदेश बदर गर्दै उच्च अदालत पाटनले धरौटीमा छाडेको थियो। सर्वोच्चबाट पनि धरौटीमा रिहा गर्ने आदेश नै सदर भएपछि सन्दीप थुनाबाहिरै रहेर मुद्दाको अन्तिम सुनुवाइ अगाडि बढेको हो।
























