विमानस्थलमा अध्यागमनका कर्मचारीले काम रोक्दा आधा घण्टासम्म उडान अवरुद्ध

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयका कर्मचारीले बुधबार करिब आधा घण्टा भन्दा बढी समय काम रोक्दा उडान अवरुद्ध बन्न पुगेको छ ।

प्रहरीले अध्यागमनको कार्यक्षेत्रमा हस्तक्षेप गरेको भन्दै असन्तुष्ट रहेका कर्मचारीहरुले कामै करिब ५ बजेबाट काम रोकेका थिए । कर्मचारीहरुले अध्यागमन डेस्क नै खाली गरेर काम रोकेपछि विमानस्थलमामा विदेश जाने तयारीमा रहेका यात्रुहरु मर्कामा परेका थिए ।

करिब तीन साता अघि अध्यागमन अधिकृत नुरबीर खड्का सेटिङ मिलाएर भिजिट भिसामा मान्छे पठाउने गिरोहसँगको संलग्नताको आरोप पक्राउ परेका थिए । उनलाई प्रहरीले पक्राउ गरेपछि नै कर्मचारीहरु असन्तुष्ट थिए ।

त्यसपछि उनीहरुले असल मनसायले गरेको काममा पनि प्रहरीले हस्तक्षेप गरेको भन्दै विरोध गर्दै आएका थिए । यसबारे अध्यागमनका कर्मचारीहरुले अध्यागमन विभागका महानिर्देशक रुद्रसिंह तामाङ र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन प्रमुख गोगनबहादुर हमाललाई ज्ञापन पत्र दिएका थिए ।

कर्मचारीहरुको त्यही ज्ञापन पत्र र गुनासोबारे जानकारी गराउन बुधबार महानिर्देशक तामाङ र कार्यालय प्रमुख हमाल उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई भेट्न सिंहदरबार गएका थिए । तामङ र हमाल गृहमन्त्रीसँग कुराकानी गर्न गएको समयमा यता विमानस्थलको अध्यागमन डेस्कका कर्मचारीले काम रोकेका थिए ।

विमानस्थल अध्यागमन कार्यालयका उपसचिव झंकनाथ ढकालले असल मनसायले गरेको काममा अपराधी सरह व्यवहार भएको भन्दै कर्मचारीहरुले ज्ञापन पत्र दिएको र यस्तै अवस्थामा काम गर्न नसक्ने कुरा उल्लेख गरेको बताए । यही पृष्ठभूमिमा बुधबार अध्यागमनको कामै अवरोध गर्ने गतिविधि भएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here