सुदूरपश्चिममा बैंक तथा वित्तीय संस्थाको कर्जा लगानी न्यून

काठमाडौं । सुदूरपश्चिम प्रदेशमा बैंक तथा वित्तीय संस्थाको कर्जा लगानी वृद्धिदर न्यून देखिएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको सुदूरपश्चिम प्रदेशको आर्थिक गतिविधि अध्ययन (वार्षिक प्रतिवेदन २०७९/८०) अनुसार गत वर्ष कर्जा लगानी १.५ प्रतिशतले मात्रै वृद्धि भएको हो ।

राष्ट्र बैंकका अनुसार गत असार मसान्तसम्म बैंक तथा वित्तीय संस्थाले सुदूरपश्चिम प्रदेशमा कुल १ खर्ब ५१ अर्ब ७१ करोड २९ लाख रुपैयाँ कर्जा लगानी गरेका छ ।

कर्जा प्रवाह न्यून रहे पनि गत वर्ष प्रदेशमा निक्षेप संकलन भने ह्वात्तै बढेको छ । अघिल्लो वर्षको तुलनामा गत वर्ष निक्षेप संकलन १६.०९ प्रतिशतले वृद्धि भई १ खर्ब ३४ अर्ब २६ करोड
२० लाख रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष वर्ष सोही अवधिमा यस्तो निक्षेप ५.८६ प्रतिशतले वृद्धि भएको थियो ।

समीक्षा वर्षसम्ममा बैंक तथा वित्तीय संस्थाहरुले संकलन गरेको निक्षेपमा कैलाली जिल्लाको अंश सबैभन्दा बढी अर्थात् ४७.२८ प्रतिशत र बाजुरा जिल्लाको अंश सबैभन्दा कम अर्थात्२.५० प्रतिशत रहेको छ ।

त्यसैगरी, बैंक तथा वित्तीय संस्थाहरुले प्रवाह गरेको कुल कर्जामा कैलाली जिल्लाको अंश सबैभन्दा बढी अर्थात् ६८.७९ प्रतिशत र बाजुरा जिल्लाको सबैभन्दा कम अर्थात् ०.९८ प्रतिशत रहेको छ ।

गत असार मसान्तसम्म बैंक तथा वित्तीय संस्थाहले सेवा क्षेत्रमा १ खर्ब ८ अर्ब ७ करोड ४२ लाख रुपैयाँ कर्जा लगानी गरेको राष्ट्र बैंकले जनाएको छ । कुल प्रवाहित कर्जामध्ये सेवा क्षेत्रमा गएको कर्जाको अंश ७१.२४ प्रतिशत रहेको छ ।

कुल सेवा क्षेत्र कर्जामध्येथोक तथा खुद्रा विक्रेतासम्बन्धी व्यवसायमा ४६.५५ प्रतिशत, उपभोग्य कर्जामा २७.७७ प्रतिशत, अन्य व्यवसायमा प्रवाहित कर्जा ९.३१ प्रतिशत, पर्यटनमा ३.१८, यातायात भण्डारण र संचारमा २.४३ प्रतिशत, वित्त, बीमा तथा अचल सम्पतिमा १.८३ प्रतिशत, शिक्षा क्षेत्रमा ३.२६ प्रतिशत, रियल स्टेटमा ३.१८ प्रतिशत, अन्य सेवा व्यवसायमा १.२४ प्रतिशत र स्वास्थ्य र अन्य सामाजिक कार्यमा १.२५ प्रतिशत अंश रहेको छ ।

असार मसान्तसम्म सुदूरपश्चिम प्रदेशमा बैंक तथा वित्तीय संस्थाको शाखा संख्या ८४६ वटा पुगेको छ । जसमा कैलाली सबैभन्दा बढी ३६१ र बाजुरामा सबैभन्दा कम २८ शाखा सञ्चालनमा छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here