जाने होइन त घुम्न ? पाथिभरा, रारा, फोक्सुन्डो र खप्तडमा ‘लोन्ली इको रिसोर्ट’ संचालन योजना

काठमाडौं, २७ भदौ । शाहसिक पदयात्रापछि पुगिने रोमाञ्चक स्थानका भ्रमणमा जानु अगाडी सबैभन्दा पहिले उठ्ने सवाल नै के त्यहाँ बासको सुविधा छ ? खानाको व्यवस्था के छ ? खाना बोकेरै जानु पर्छ ?

यस्ता सवालका उचित उत्तर नपाएपछि मानिसले आफ्नो भ्रमणको मुड परिवर्तन गरी परम्परागत गन्तब्यमै आफूलाई मोड्ने गर्छ । अब भने नेपालले पनि क्रमशः हिमाली भेगका रोमान्चक गन्तब्यसम्म पूर्वाधार पुर्याउने प्रयास थालेको छ ।

नेपाल पर्यटन बोर्डका अनुसार प्रकृतिको संरक्षण गर्दै पर्यटकलाई सुविधा प्रदान गर्ने गरी केही चर्चित गन्तब्यमा लोन्ली इको रिसोर्ट संचालनको अवधारणा अगाडी बढेको छ ।

त्यसमा अहिले पाथिभरा, सेफोक्सुन्डो, खप्तड र रारा छनोट गरिएको छ । चालु आर्थिक वर्ष भित्र यहाँ इको रिसोर्ट संचालनको सम्भावना बारे सम्भाब्यता अध्ययन गरिदैछ ।

त्यसका लागि रिसोर्ट संचालनको मोडालिटीसमेत यसै वर्ष तयार हुने छ । त्यसका आधारमा आगामी वर्षदेखि पूर्वाधार निर्माणलाई प्राथमिकताका साथ अगाडी बढाउने योजना बोर्डले बनाएको छ ।

पछिल्लो समय यी गन्तब्यमा आन्तरिक तथा बाह्य पर्यटकको ठूलो भीड लाग्न शुरु गरिसकेको छ । तर, पूर्वाधार अभावले यहाँ जाने पर्यटकले निकै ठूलो सास्ती भोग्ने गरेका छन् ।

अहिले तुलनात्मक रुपमा रारा र पाथिभरामा भने पूर्वाधार र होटेल रिसोर्टको विकास भइसकेको छ । तर, पर्यटक आगमनको तुलनामा पर्याप्त छैन ।

बोर्डका अनुसार यहाँ प्रदेश सरकार, स्थानीय तश र निजी क्षेत्र समेतको सहभागिता हुने गरी रिसोर्ट संचालनको मोडालिटी बनाइने भएको छ ।

आफ्नो क्षेत्रको विकासमा सबै तहका सरकारले अपनत्व लिने गरी विकासको मोडल तय गरिने बोर्डले जनाएको छ ।

त्यसो त, यसैवर्ष नारायणी नदी किनारका धार्मिक स्थल र आकर्षक स्थलमा पर्यटकीय गतिविधि संचालनको सम्भाब्यता अन्ययन गरी विकासको मोडल पनि तयार गरिदैछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here