नेपाल एयरलाइन्सका हाकिमसँग किन रिसाए पर्यटनमन्त्री ?

काठमाडौं । सन् २०१२ देखि ‘ग्राउन्डेड’ ट्विनअटर जहाज मर्मतमा नेपाल वायुसेवा निगम व्यवस्थापनले आलटाल गरेपछि संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँती आक्रोशित बनेका छन् । सोमबार जहाज राखिएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित ह्यांगर अनुगमन गर्दै मन्त्री किराँतीले गम्भीर भएर काम नगर्ने उच्च पदाधिकारी र कर्मचारीप्रति सरकार कडारूपमा प्रस्तुत हुने चेतावनी दिए । ६ महिनाअघि उक्त ट्विनअटर जहाज मर्मत गर्न किराँतीले निर्देशन दिएका थिए । त्यसबेला कानुनी प्रक्रिया पूरा भएको दुई महिनाभित्र जहाज मर्मत भइसक्ने निगम कार्यकारी अध्यक्ष युवराज अधिकारीले मन्त्री किराँतीलाई बताएका थिए ।

ग्राउन्डेड जहाज बनाउन बोर्डबाट निर्णय भएको दुई महिना बित्दा पनि जहाज मर्मत नभएपछि सोमबार मन्त्री किराँती अनुगमन गर्न विमानस्थलस्थित ह्यांगर पुगेको उनको सचिवालयले जनाएको छ । जहाज मर्मतमा खटिएका टोलीबाट मन्त्री किराँतीले सन्तोषजनक जवाफ नपाएपछि उनी कडारूपमा प्रस्तुत भएका थिए । जनताले कागजात हेर्दैनन्, परिणाम चाहेका छन् । मलाई परिणाम चाहियो, जहाज कहिलेसम्म बनिसक्छ रु,’ मन्त्री किराँतीले भने, ‘यसको उत्तर चाहियो । पहिलाजस्तो ढाँट्न पाइन्न ।’

उनले परिणाम दिन नसक्ने कर्मचारीलाई निगममा किन राख्ने भन्दै प्रश्न गरेका थिए । ‘मलाई परिणाम निकाल्न जनताले निर्वाचित गरेका हुन्, प्रधानमन्त्रीले मलाई यो मन्त्रालयको जिम्मा दिनुभएको हो । प्रधानमन्त्रीले परिणाम खोज्नुहुन्छ । मैले परिणाम दिन नसके मलाई प्रधामन्त्रीज्यूले मन्त्रीको कुर्सीमा किन राख्ने?,’ उनले प्रश्नको वर्षा गरे । निगमको बोर्ड बैठकबाट करिब २० करोड रुपैयाँसम्म जहाज मर्मतमा लाग्ने खर्चको निर्णय गरेको समेत सचिवालयले जनाएको छ ।

जहाज मर्मतका लागि स्पष्ट कार्ययोजना समेत नबनाइ निगम व्यवस्थापनले आलटाल गरिरहेपछि मन्त्री किराँती खरो उत्रिएको उनको सचिवालयले जनाएको छ । पर्यटनमन्त्री किराँतीले प्रत्येक साता आफू निरीक्षणमा आउने र कार्ययोजना अनुसार काम गरेर प्रगति विवरण पेस गर्न निगमलाई निर्देशन दिए । उनले कानुनी बाधा हटाउन आफू तयार रहेको र आफूलाई नतिजासँग मात्र सरोकार रहेको बताए । आफूले जति कुनै पनि मन्त्रीले निगमको पक्षमा विगतमा खुलेर बचाउमा नलागेको भन्दै उनले यतिबेला समेत निगम सुधार नभए कहिल्यै पनि नहुने दाबी गरे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here