भारतले हटायो प्याज निर्यातमा लगाएको प्रतिबन्ध

काठमाडौं । भारतले प्याज निर्यातमा लगाएको प्रतिबन्ध हटाएको छ। केन्द्रीय गृहमन्त्री अमित शाहको अध्यक्षतामा रहेको मन्त्रिपरिषद्को समितिले प्याज निर्यातलाई स्वीकृति दिएको छ । देशमा प्याजको बढ्दो मूल्यलाई नियन्त्रण गर्न सरकारले प्याज निकासीमा प्रतिबन्ध लगाएर ३१ मार्च २०२४ सम्मको समयसीमा तोकेको थियो तर म्याद सकिनुअघि नै यो प्रतिबन्ध हटाइएको छ ।

गुजरात र महाराष्ट्रमा प्याजको भण्डारलाई ध्यानमा राखेर सरकारले यस्तो स्वीकृति दिएको हो । केन्द्रीय मन्त्री मनसुख मण्डावियाले केन्द्रीय गृहमन्त्रीलाई प्याज किसानको अवस्थाबारे जानकारी गराएपछि छलफलपछि प्रतिबन्ध हटाउने निर्णय गरिएको हो ।

यसअघिका धेरै रिपोर्टहरूमा केन्द्र सरकारले प्याजको निर्यातमा लगाइएको प्रतिबन्ध हटाउने योजना बनाएको अनुमान गरिएको थियो। यसको मुख्य कारण प्याज उत्पादन गर्ने क्षेत्रमा प्याजलगायत तरकारीको मूल्य घटेको बताइएको छ । अब मन्त्रिपरिषदको केन्द्रीय समितिले प्रतिबन्ध फुकुवा गर्ने निर्णय गर्दै ३ लाख मेट्रिक टन प्याज निर्यात गर्न स्वीकृत गरेको छ । यससँगै बंगलादेशमा ५० हजार टन प्याज निर्यातको स्वीकृति पनि दिइएको छ ।

भारतको केन्द्र सरकारले डिसेम्बर ८ मा प्याज निर्यातमा प्रतिबन्धको घोषणा गरेको थियो। विदेश व्यापार महानिर्देशनालयले यस सम्बन्धमा जारी गरेको अधिसूचनामा मार्च ३१, २०२४ सम्म यो प्रतिबन्ध लगाइएको भनिएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here