फाइनलअघि ‘साम्बा’ले भनिन्-‘टोलीको गोलमा खुसी मनाउन आतुर छु’

काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी खेलाडी सावित्रा भण्डारी ‘साम्बा’ले फाइनल खेल्न नपाए पनि टोलीको गोलमा खुसी मनाउन आतुर रहेको बताएकी छिन् ।

वाफ महिला च्याम्पियनसिपको फाइनल खेलअघि सामाजिक सञ्जालमा एक पोस्ट गर्दै उनले टिमले फाइनल जितेर उपाधिसहित घर फर्किने बताएकी हुन्।

उनले भनेकी छिन् -देशको लागि खेल्नु मेरो लागि आजपनि उत्तिकै महत्वपूर्ण छ, जति मैले गाउँ छोडेर सहर पस्दा त्यो जर्सी लगाउने सपना साँचेको थिएँ । नेपालको जर्सी लगाएर मैदानमा बिताएको हरेक सेकेन्ड मैले आफ्नो अन्तिम खेल जसरी खेलेको छु । नेपालको प्रतिनिधित्व गर्नुभन्दा ठूलो गौरवको कुरा सायदै अरु होला ।

वाफ महिला च्याम्पियनसिपमा हामी फाइनल खेल्दैछौं, तर एक फुटबल खेलाडी भएपछि मैले आफ्नो व्यावसायिक करिअर र सम्झौतालाई पनि उत्तिकै सम्मान गर्नुपर्छ । क्लबले सधैं मेरो लागि सहज वातवरण सिर्जना गरिदिएको छ, र यसपटक पनि फिफाले तोकेको भन्दा बढी समय राष्ट्रिय टोलीमा रहने व्यवस्था मिलाएकोमा धन्यवाद भन्न चाहन्छु, उनलेभनेकी छन् । ।

मलाई विश्वास छ हाम्रो टोलीले फाइनलमा पनि आफ्नो लय कायम राख्दै उपाधि घर लिएर जानेछ । हामीले एक टिमको रुपमा उच्च प्रदर्शन गरेर फाइनल यात्रा तय गरेका हौं । प्रतिद्वन्द्वी कठिन भएपनि हामी पुनः एकपटक एकजुट भएर जित हासिल गर्नेछौं भन्ने विश्वास मैले राखेको छु ।

खेलाडीको रुपमा मैदानमा नभएपनि म मैदानबाहिर आफ्नो देशको समर्थनमा हुनेछु । र जसरी टिमको गोलमा मैदानभित्र खुसी साट्थें, त्यसैगरी टोलीको गोलमा खुसी मनाउन आतुर छु । शुभकामना टिम! हामी सक्छौं, हामी गर्छौं!’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here