आइतबारदेखि उपत्यकाका छ स्थानमा १३ कम्पनीको ग्यास साटफेर गर्न पाइने

काठमाडौँ, २३ असोजः ग्यासका सिलिन्डर सहजै सट्टापट्टा नहुँदा हैरानी खेपिरहेका उपभोक्ताले आइतबारदेखि उपत्यकाका छ स्थानमा विभिन्न १३ वटा कम्पनीका ग्यास साटफेर गर्न सक्ने भएका छन् । नेपाल एलपी ग्यास उद्योग सङ्घले नेपाल आयल निगमको समन्वय र ग्यास बिक्रेता महासङ्घको सहकार्यमा उक्त व्यवस्था मिलाएको हो । आइतबारदेखि शनिबारसम्म बिहान ९ः३० देखि अपराह्न ४ः३० सम्म ग्यासको बिक्री वितरण हुनेछ ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव रुद्रसिंह तामाङले फरक ग्यासको सिलिन्डर भएर चिन्तित भएको उपभोक्तालाई चाडपर्वमा ग्यासको सहज आपूर्तिका लागि सिलिन्डर साटफेर गर्न सक्ने व्यवस्था गरिएको जानकारी दिए ।

सङ्घका अनुसार उपभोक्ताले काठमाडौँको सिफलस्थित ग्यास एन्ड अक्सिजन टे«डर्सबाट एभरेष्ट र सुगम, पेप्सीकोलाबाट सगर, बालाजु औद्योगिक क्षेत्रबाट नेपाल, एचपी, गीता, राजधानी र त्रिवेणी, सुकेधाराबाट बाबा र श्री, कलङ्कीबाट साइबाबा र श्रीकृष्ण तथा ललितपुरको हरिसिद्धिबाट श्रीराम ग्यास लिन सक्नेछन् । सङ्घका अध्यक्ष दिवान चन्दले ती स्थानमा काठमाडौँ उपत्यकामा बिक्री वितरण हुने सदस्य उद्योगको ग्यासको सिलिन्डरमात्रै साटफेर हुने जानकारी दिए ।