मैलुङ–स्याफ्रुबेसी सडक संञ्चालनमा, अलपत्र ७ सय कन्टेनरले बाटो पाए

रसुवा, ३१ भदौ । रसुवागढी नाका जोड्ने मैलुङ–स्याफ्रुबेसी सडक संञ्चालनमा आएको छ ।

चीनसँगको अन्तराष्ट्रिय नाका जोड्ने दुवै सडक पहिरोले अवरुद्ध भए पछि मैलुङ–स्याफ्रुबेसी सडकमा झरेको पहिरो हटाउने काम सनिबार बिहानदेखि शुरु गरिएको थियो ।

सडक खण्डको मैलुङबेसीदेखि छोक्कलसम्मको सडक खण्डमा रहेको अवरोधलाई हटाई आजबाट सडक सञ्चालनमा ल्याईएको रसुवाबाट प्रतिनिधि सभाका सासंद मोहन आचार्यले बताए ।

सडकको अबरोध हटाई सडक संञ्चालनमा ल्याउन आचार्य, प्रदेशसभा सदस्य प्रेम तामाङ, प्रभात तामाङ, गोसाईकुण्ड गाँउपालिका, उत्तरगया गाउँपालिका, नेपाली सेना, नेपाल प्रहरी, स्थानीय प्रशासन र सडक डिभिजन कार्यालय प्रत्यक्ष रुपमा फिल्डमा खटेका थिए ।

चार दिनदेखि आयात तथा निर्यात ठप्प भएपछि मैलुङ–स्याफ्रुबेसी सडक सञ्चालनमा ल्याउन जनप्रतिनिधिहरु आफै सकृय भएका थिए ।

राम्चे–धुन्चे सडक खण्ड सञ्चालनमा ल्याउन समय लाग्ने देखिएपछि तत्कालका लागि मैलुङ तर्फको सडक सञ्चालनमा ल्याइएको हो ।

राम्चे ग्राङबीचको पासाङल्हामु मार्गमा पहिरो गई मर्मत सम्पन्न गराउन निकै समय लाग्ने भएकाले असारदेखि बन्द स्याफ्रु मैलुङ खण्डको राजमार्ग सञ्चालन गर्न काम अगाडि बढाइएको थियो ।

राजमार्गको अवरोध हटाउन मैलुङतर्फ सांसद आचार्यका दुई वटा, गल्छी त्रिशूली स्याफ्रुबेशी सडक सुधार आयोजनाका दुई, स्याफ्रुबेशीतर्फ गोसाइँकुण्ड गाउँपालिकाको एक, स्काभेटर तथा रसुवागढी हाइड्रोपावर र डिभिजन सडक कार्यालयको एक तथा पूर्व सासंद जनार्दन ढकालको एक लोडर प्रयोग गरिएको गल्छी स्याफ्रुबेँशी सडक सुधार आयोजनाका प्रमुख नारायणदत्त भण्डारीले जानकारी दिए ।

मैलुङ—स्याफ्रु नदी किनारको १७ किमि राजमार्ग गत असारदेखि र राम्चे खण्डको पासाङल्हामु मार्ग यही भदौ २५ गतेदेखि बन्द भएपछि केरुङबाट सामान लिई नेपाल भित्रिएका ७ सय भन्दा बढी ट्रक तथा कन्टेनर रोकिएका छन् ।

व्यापारीले दशैँका लागि बढी मात्रामा सामान ल्याएका र आयात भएका सामान सडक अवरोधले टिमुरे क्षेत्रमा भरिभराउ भएको भन्सार कार्यालय टिमुरेका प्रमुख भन्सार अधिकृत पुण्यविक्रम खड्काले जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here