काठमाडौं । राष्ट्रिय सभाको अध्यक्षको निर्वाचन आज हुँदैछ ।
आज बिहान ११ बजेर ९ मिनेटमा संघीय संसद् भवन नयाँ बानेश्वरमा बस्ने राष्ट्रिय सभाको बैठकले चुनावको प्रक्रिया अघि बढाउने छ।
राष्ट्रिय सभा अध्यक्षका लागि दुई उम्मेदवार चुनावी मैदानमा छन्। सत्ता गठबन्धनबाट माओवादी केन्द्रबाट नारायण दाहाल र प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका तर्फबाट युवराज शर्मा उम्मेदवार छन्।
राष्ट्रिय सभामा पहिलो दल माओवादीसँग एक मनोनित र उपाध्यक्षसहित १८ सांसद छन्। एमालेसँग प्रतिनिधित्व गरेका १० सांसद छन् । एकीकृत समाजवादीका आठ र जसपाका तीन सांसद छन्। यसरी गठबन्धनमा उपाध्यक्षसहित ३९ सांसद छन्।
यता प्रमुख प्रतिपक्षी कांग्रेसका १६ सांसद छन्। लोसपाका एक, राष्ट्रिय जनमोर्चाका एक सदस्य छन्। राष्ट्रपतिबाट मनोनित वामदेव गौतमले कता भोट हाल्ने भन्ने खुलाएका छैनन्।
राष्ट्रपतिबाट मनोनित राष्ट्रिय सभा सदस्य नारायण दाहाल प्रधानमन्त्री पुष्पकमल दाहालका भाइ हुन्। २०७८ मा दाहाल राष्ट्रिय सभा सदस्यमा मनोनित भएका थिए।


























