संघीय संसद भवनको शिलान्यास, प्रम ओली भन्छन् – सरकारको ध्यान ठूला आयोजनामा

काठमाडौं, १ असोज । प्रधानमन्त्री केपी शर्मा ओलीले सिंहदरबार परिसरमा संघीय संसद भवनको शिलान्यास गरेका छन् । शहरी विकास तथा भवन निर्माण विभागले शिलान्यास कार्यक्रम आयोजना गरेको हो ।

शिलान्यास कार्यक्रममा प्रधानमन्त्री ओलीले संसदीय प्रणालीको राजनीति गरे पनि संसद बस्ने ठाउँ नभएकोे स्थिती अब अन्त्य हुने बताए ।

करीब ५ अर्ब ३० करोड रुपैयाँको लागतमा तीन बर्षमा निर्माण सम्पन्न हुने यो भवनको निर्माण समय र गुणस्तरीयतामा कुनै सम्झौता नहुने प्रधानमन्त्री ओलीको भनाइ छ ।

‘निर्माणमा कुनै प्रकारको विलम्ब मान्य हुँदैन । समयभित्र काम सक्नुहोस । गुणस्तरमा सम्झौता हुँदैन,’ भने, ‘यस भवनमा नेपाललाई अग्रगतिमा लैजाने ठुला ठुला निर्णयहरु हुनेछन् । यही भवनबाट धेरैवटा सक्षम सरकारहरु बन्नेछन् भन्ने मेरो अपेक्षा छ ।’

उनले देश विकासको गतिमा अघि बढीसकेको उल्लेख गरेका छन् । ‘हामीले डेढ बर्षमा गरेका कामको परिणाम देखिन थालेको छ । अमलेखगञ्ज मोतीहारी पाइपलाइनबाट इन्धन ल्याउने कुरा त्यसको एउटा उदाहरण हो,’ ओलीले भने, ‘आगामी चैतभित्र रानी पोखरी निर्माण भइसक्छ । अरु यस्ता थुप्रै ठुला आयोजनाहरु अब निर्माण सम्पन्न भइसक्नेछन् ।’

सरकार सुशासन र भ्रष्टचार विरोधी अभियानमा सक्रियतापूर्वक लागेको प्रधानमन्त्री ओलीको भनाइ छ । त्यसैगरी, लोकतन्त्र माथी कतैबाट खतरा आए सरकार सहेर नबस्ने पनि उनले बताए ।

‘लोकतन्त्र माथी खतरा आए सरकार सहेर बस्दैन । संविधान अनुसार जनताको बलिदान खेर जान नदिन हामी सजग छौं,’ उनले भने ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here