मर्स्याङ्दी ड्याममा चल्न थाल्यो मोटरबोट, शूल्क कति ?

काठमाडौं । आँबुखैरेनी गाउँपालिकाले पृथ्वी राजमार्गमा अवस्थित मर्स्याङ्दी जलविद्युत् केन्द्रको जलाशयमा मोटरबोट सुरु गरेको छ । मोटरबोट सेवा प्रदायक कम्पनी बोटेबोराले गाउँपालिकासँग सम्झौता गरी आइतबारदेखि मोटरबोटको व्यावसायिक सञ्चालन गरेको बोटेबोरा प्रालिका अध्यक्ष बीबी (बिष्णु) ढकालले जानकारी दिए । ढकालका अनुसार जलाशयमा तत्काल एक करोड रुपैयाँ लगानीमा मोटरबोट सञ्चालनमा ल्याएको हो ।

कम्पनीले थप लगानी गरी जलाशय किनारमा ’बिच रेस्टुरेन्ट’, फ्लोटिङ डेक, रिभर भ्यु पोइन्ट, शौचालय तथा मोटरबोट सर्भिस सेन्टरसहितका संरचना बनाउने योजना छ । नेपालकै पहिलो र ठूलो मोटरबोट उत्पादक नेपाल सिप एन्ड बोट बिल्डिङले निर्माण गरेका अग्नि र फिस्टेल नामका दुई मोटरबोट सञ्चालनमा ल्याइएको हो ।

आइतबार मोटरबोटको उद्घाटन गर्दै गण्डकी प्रदेशका विना विभागीयमन्त्री हरिबहादुर चुमानले विभिन्न अप्ठ्यारो छिचोल्दै मोटरबोट सञ्चालन गर्नमा सफल भएकोमा खुसी व्यक्त गरे । आगामी दिनमा अन्तरपालिका पर्यटन प्रवर्द्धनमा पालिकाहरु अग्रसर हुनुपर्नेमा चुमनले जोड दिए ।

तनहुँकै अग्लो स्थान आँबुखैरेनीको छिम्केश्वरी र पहाडकी रानी बन्दीपुर जोड्ने बाटोको स्तरोन्नति गरी यस क्षेत्रको पर्यटन प्रवर्द्धन र ग्रामीण जीवन सहज बनाउने प्रदेश सरकारको योजना रहेको चुमानले बताए । ऐना पहरा, छिम्केश्वरी, होमस्टे लगायतका विभिन्न गन्तव्यको प्रवर्द्धन गर्दै पालिकालाई पर्यटकीय हब बनाउन लागि परेको आबुँखैरेनीले दुई वर्षको पहलपछि मोटरबोट सञ्चालन गर्न सफल भएको गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले बताए ।

मोटरबोटमा घुम्न लाग्ने समयअनुसार फरक फरक शुल्क कायम गरिएको छ । मोटरबोटमा सयर गर्न ६ देखि ८ मिनेटसम्म प्रतिव्यक्ति २५० रुपैयाँ, १० देखि १२ मिनेटका लागि ५ सय रुपैयाँ र १५ देखि २० एक हजार रुपैयाँ शुल्क लाग्ने कम्पनीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here