दूतावासले भन्यो– ‘ इजरायलमा नेपालीलाई कुनै असर परेको छैन, सबै सुरक्षित छन्’

काठमाडौं । इजरायलस्थित नेपाली राजदूतावासले त्यहाँ रहेका नेपालीहरूलाई इरानी आक्रमणले कुनै असर नगरेको बताएको छ ।

दूतावासले प्रेस विज्ञप्ति जारी गर्दै इजरायलका विभिन्न क्षेत्रमा इरानले मिसाइल तथा ड्रोन आक्रमण गरेको भए पनि नेपालीहरू भने सुरक्षित रहेको जानकारी गराएको हो ।

यसअघि दूतावासले सार्वजनिक सूचना जारी गरी आफ्नो सुरक्षाको ध्यान दिन र स्थानीय सुरक्षा प्रोटोकलको पालना गर्न र अत्यावश्यक अवस्थाबाहेक घरबाट बाहिर ननिस्कन अनुरोध गरिसकेको छ ।

इरानले आक्रमण सुरु गरेपछि इजरायली होम फ्रन्ट कमान्डले सर्वसाधारणका निम्ति नयाँ निर्देशन जारी गरेको दूतावासले जनाएको छ । नयाँ निर्देशनमा सोमबार राति ११ बजेसम्म लागु हुने गरी शैक्षिक क्रियाकलाप बन्द गर्ने र ठूलो स्तरको सभा/भेला नगर्न भनिएको छ ।

नेपाली दूतावासले आवश्यक सुरक्षाका निम्ति नेपालीलाई स्थानीय सुरक्षा ‘प्रोटोकल’को पालना गर्न, आफ्नो क्षेत्रका लागि जारी गरिएका अद्यावधिक सूचना बारेमा जानकार रहन र आफ्नो सुरक्षातर्फ विशेष ध्यान दिन अनुरोध गरेको छ ।

इजरायलमा रहेका नेपालीलाई कुनै अप्ठ्यारो परे दूतावासको द्वितीय सचिव कुमारबहादुर श्रेष्ठलाई ०५२८२८९३०० र सहचारी सञ्जयकुमार साहलाई ०५४५५८२०७७ नम्बरमा फोन गर्न दूतावासले भनेको छ ।
इजरायलमा हाल चार हजार ५०० नेपाली केयरगिभरका रूपमा कार्यरत छन् । केही विद्यार्थी पनि इजरायलमा अध्ययन गरिरहेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here